काठमाडौं । व्यवस्थापन र कानुन विषय पढेका विद्यार्थीहरुका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जागिरको अवसर खुलेको छ । बोर्डले प्रशासन, लेखा र कानुन विषयमा तृतीय तहको अधिकृतका लागि आवेदन खोलेको छ । बोर्डले आईतबार गोरखापत्र राष्ट्रिय दैनिकमा सुचना निकालेर खुला प्रतिस्पर्धाबाट प्रशासन, लेखा र कानुन समूहमा १६ जना अधिकृत नियुक्त गर्न दरखास्त आव्हान गरेको हो । जसमा लोक सेवाको नियम अनुसार महिला, जनजाती र दलितका लागि कोटा छुट्याइएको छ ।
प्रशासन समूहमा १० जना तृतीय श्रेणीका अधिकृत माग गरेको बोर्डले खुला तर्फ ६ जनाको माग गरेको छ भने, महिला जनजाति, मधेशी तथा दलितको लागि १\१ जना नियुक्ती गर्ने जनाएको छ । कानुनमा ४ जनामध्ये खुलामा २ तथा महिला र आदिवासी जनजातिका लागि १\१ कोटा छुट्याइएको छ । त्यस्तै लेखा समूहमा २ जना तीतृय श्रेणीका अधिकृत नियुक्त गर्न लागिएको धितोपत्र बोर्डल खुला तथा महिलाको लागि १\१ जनाको आवेदन मागेको छ ।
तीनै समूहमा आवेदन दिन चाहनेले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तिर्ण गरेको व्यवस्था गरिएको छ । आवेदनका लागि ३० दिन समयसिमा निर्धारण गरेको बोर्डले उम्मेदवारका लागि २१ वर्ष पुरा भई ३५ वर्षको उमेरको हद तोकेको बोर्डले महिलाका लगि ४० वर्ष ननाघेको हुनुपर्ने बताएको छ । आवेदन दिन २ हजार दरखास्त दस्तुर लाग्ने र थप अतिरिक्त समूहमा आवेदन दिन थप २ सय लाग्ने जारी सूचनामा उल्लेख छ ।
बोर्डलाई दरबन्दी थप गर्न अर्थमन्त्रालयले गत वर्ष स्वीकृति दिएपछि नयाँ जनशक्ति थप गर्न लागेको हो ।
प्रतिक्रिया