नेपालको पुँजी बजार सानो भएपनि यसले धेरै उतारचढाव झेलिरहेको छ । अचानक सुधार\वृद्धि टिक्ने खालको\दिगो हो वा कृत्रिम हो भन्ने विषयमा पक्ष–विपक्षमा बहस चलिरहेका छन् । देशको आर्थिक अवस्था र कम्पनीहरूको वित्तीय स्थितिमा उल्लेख्य सुधार र सुधार हुने निश्चित तत्वहरूका आधारमा गरिने आधारभूत विश्लेषण बिना नै एउटा घटना अर्थात् बैंक–वित्तीय संस्थाको पुँजी वृद्धिसम्बन्धी निर्णयका साथै पछिल्लो पटक संविधान आउने आधारमा यस्तो भएको देखिन्छ । यसरी ह्वात्त बढ्दा जोखिम पनि बढ्ने सम्भावना रहेको राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष समेत रहेका पुँजी बजारका ज्ञाता डा. रेवत वहादुर कार्कीको विश्लेषण छ । कारोबार दैनिकमा उनले लेखेको आर्टिकलमा भनिएको छ–संविधान आउनासाथ अर्थव्यवस्थामा काम नगरी अर्थात् पर्याप्त विकास नगरी आकाशबाट खस्नेजस्तो गरी पुँजीबजार ह्वात्त बढ्ने होइन, मुलुकमा स्थायित्व आई अर्थतन्त्रको विकाससँगै पुँजीबजारले पनि गति लिने हो र त्यसमा स्थायित्व पनि हुन्छ । हल्लाको भरमा बढ्ने पुँजीबजार निश्चय नै टिकाउ हुँदैन । विकसित देशमा यसरी बैंक–वित्तीय संस्थाको पुँजी वृद्धि हुँदा सेयरको प्रतिफल घट्ने हुँदा यसको असर प्रायशः नकारात्मक परी सेयर बजारमा ह्रास आउने गर्छ । त्यस्तै यस्ता देशमा सुधारका ठूला घटना हुँदा पनि पुँजीबजारले केही सुधारको संकेत गर्छ तर ह्वात्त बढ्दैन । तर, वित्तीय साक्षरता अझै सुदृढ भइनसकेको तथा अझै प्रौढता नआइसकेको नेपालको पुँजीबजार अझै अस्थिरता देखिन्छ । त्यसैले पनि यो वृद्धि धेरै नटिक्नेजस्तो देखिन्छ । तसर्थ लगानीकर्ताले होसियार भई आधारभूत विश्लेषणका आधारमा लगानी गर्नु उपयुक्त हुन्छ ।
पुँजीबजार विकास र दिगोपनका लागि देशको आर्थिक तथा कम्पनीहरूको वित्तीय स्थितिको सुधार, उदार अर्थनीति साथै राजनीतिक स्थिरता आधारभूत तत्वहरू हुन भने अर्कातर्फ बजारको आधुनिकीकरण र गतिशीलताका लागि व्यापक सुधारको अपरिहार्यता देखिन्छ । यसअनुसार देहायका सुधारहरू यथाशीघ्र कार्यान्वयन गरिनुपर्छ :-
१. बजार र प्रविधिसम्बन्धी सुधार
–सेयरबजारको आधुनिकीकरणका लागि ३ महत्वपूर्ण काममध्ये कारोबार अटोमेसन २०६४ सालमा भएकोमा अन्य २ बाँकी काम— कारोबारका लागि अटोमेटिक राफसाफ र कागजविहीन द्रुत–विद्युतीय सेयर नामसारीका लागि २०६६ सालमा सीडीएससी कम्पनी स्थापना भए पनि यी २ कार्य ६\७ वर्षसम्म पनि पूर्ण हुन नसकेकाले यसलाई शीघ्र कार्यान्वयनमा ल्याई बजारको पूर्ण आधुनिकीकरण गरिनुपर्छ ।
–नेप्सेको ‘ट्रेडिङ अटोमेसन सफ्टवेयर’ ५ वर्षमा प्रतिस्थापन गर्नुपर्नेमा ७ वर्षसम्ममा पनि यो काम हुन नसकेकाले यसतर्फ तुरुन्त ध्यान दिइनुपर्छ ।
–पुँजीबजारको दोस्रो बजार व्यवस्थित गर्न नागरिक लगानी कोेषलाई बजार निर्माताका रूपमा विकास गर्नैपर्ने बेला भएको छ भने श्रीलंकन मोडल प्रयोग गरी गैरआवासीय नेपालीहरू (एनआरएन) लाई दोस्रो बजारमा सहभागी गराइएमा बजारको दिगो विकास हुन सक्छ ।
–लगानीकर्ताका लागि ‘सिंगल आइडेन्टी कार्ड’ को व्यवस्था गरी यथाशीघ्र इन्टरनेटमा आधारित कारोबारको सुरुआत गरिनुपर्छ ।
–म्युच्युयल फन्ड, बन्ड मार्केट (सरकारी तथा कर्पोरेट) र ओटीसी मार्केट प्रभावकारी बनाउनुपर्छ, साथसाथै सेयरको प्राथमिक निष्कासनमा स्वतन्त्र मूल्यनिर्धारणको व्यवस्था गरिनुपर्छ ।
२. संरचनात्मक तथा संस्थागत सुधार
धितोपत्र बोर्डको संगठनात्मक र संरचनात्मक सुधार गरी आधुनिक स्टक एक्सचेन्ज हाँक्न सक्ने नियमन र सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्नुपर्ने खाँचो बढेको छ । यसका साथै नेपाल स्टक एक्सचेन्जलार्ई २०६४÷६५ मा नै नाफामूलक संस्थामा परिणत गरी निजीकरण गर्न बाटो प्रशस्त गरिसकिएकाले सरकारले यथाशीघ्र चरणबद्ध कर्पोरेट निजीकरण गर्नुपर्ने बेला भइसकेको छ । यतिमात्र नभई धितोपत्र बजारलाई प्रतिस्पधात्मक बनाउन अन्य १ स्टक एक्सचेन्जसम्म स्थापना गर्न अनुमति दिइनुपर्छ । यस्तै, नेप्सेको सहायक कम्पनीका रूपमा रहेको सीडीएससीमा स्तरीय वाणिज्य बैंकहरूसमेतको सेयर स्वामित्वमा सहभागी गराई संरचनात्मक सुधार गर्नु आवश्यक छ ।
सार्क क्षेत्रमा पुँजीबजारलाई विकास गर्न क्रसबोर्डर लिस्टिङ र टे«डिङमा सहभागी गराउन नियमन निकायहरू, सूचीकृत कम्पनीहरू, दलाल व्यवसायीसहित सबै सहभागीको क्षमता अभिवृद्धि गरिनुपर्छ ।
३. दलाल व्यवसायलाई स्तरीय, व्यावसायिक र प्रतिस्पर्धी बनाउने
हाल कारोबार बढेको आधारमा दलाल व्यवसायीलाई नेप्सेबाट उपलब्ध गराइएको टर्मिनललाई आवश्यकतानुसार वृद्धि गरिनुपर्ने खाँचो बढेको छ । समसामयिक ‘ब्रोकर ब्याक अफिस सफ्टवेयर’ तैयार गरी लागूसमेत गरिनुपर्छ । यसो गर्नाले हाल देखा पर्दै आएको सफ्टवेयरजन्य समस्या सम्बोधनमा निकै सहयोग पुग्नेछ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी खोली दलाल तथा बजार निर्माताको कार्य गर्ने व्यवस्था गर्ने हो भने बजारमा हाल देखिएका समस्या निकै हदसम्म सम्बोधन हुनेछन् । अझ विदेशी प्रविधि र पुँजी भिœयाई दलाल व्यवसायको विकास गर्ने दिशामा सोच्नुपर्छ । लाल व्यवसायीमा गुणस्तर र क्षमतामा वृद्धि गराई यी व्यवसायीमार्फत नै अन्तर्राष्ट्रिय प्रचलनअनुसार लगानीकर्तालाई मार्जिन ल्यान्डिङको सुविधा प्रदान गर्दा त्यसले पुँजीबजारको विकासमा योगदान पुग्छ ।
४. अन्य सुधार
यथार्थ क्षेत्र\उत्पादनशील क्षेत्रका कम्पनीलाई वित्तीय पारदर्शिता र सुशासनमा अभिवृद्धि गरी मौद्रिक, वित्त एवं अन्य नीतिको प्रोत्साहनमूलक सुधार प्याकेज पोग्राम लागू गरी पुँजी बजारमा भिœयाउने तथा भेन्चर क्यापिटको विकास इत्यादि सुधारहरू गर्र्नु आवश्यक छ ।
यसरी संरचनात्मक र संस्थागतसहित व्यापक सुधार कार्यहरू गर्न सकेमा नेपालको पुँजीबजार पूर्ण आधुनिक, प्रतिस्पर्धी एवं विश्वसनीय भई मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान गर्न सक्नेमा दुईमत नहोला ।
प्रतिक्रिया