काठमाडौं । माछापुच्छ्रे र जनता बैंकबीच ६ महिनाभित्र मर्जर प्रक्रिया सक्ने सहमति भएको छ । पुँजी बढाउने दवावमा रहेका दुवै बैंकले छिटो मर्जर प्रक्रिया सकि संयुक्त कारोबार गर्ने तयारी गरेका हुन् । यसका लागि असोज ३ गते प्रारम्भिक सम्झौता भएकोमा सोमबार विस्तृत सम्झौता भएको हो ।
सम्झौतापत्रमा माछापुच्छ्रेका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो र जनताका अध्यक्ष उदय नेपालीले हस्ताक्षर गरे ।
मर्जरपछि बन्ने बैंकको नाम माछापुच्छ्रे रहेन सहमति भएको छ । सञ्चालक समितिमा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो नै अध्यक्ष रहने तथा ९ जनाको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकका तर्फबाट ५ जना, जनता बैंकको तर्फबाट ३ जना र विशेषज्ञ सञ्चालक १ जना रहनेछन् ।
हाल माछापुच्छ्रेको चुक्ता पूँजी २ अर्ब ९५ करोड र जनताको २ अर्ब ६ करोड रहेको छ । माछापुच्छ्रे बैंक हकप्रद शेयर जारी गर्ने पक्रियामा रहेको छ भने मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी करीब रु. ५ अर्ब ७१ करोड पुग्नेछ । साथै, मर्जर पश्चात बैंकको ९२ शाखा तथा ९८ एटीएम पुग्ने बताइएको छ ।
मर्जरका लागि माछापुच्छ्रेका अध्यक्ष महतोको संयोजकत्वमा ६ सदस्यिय समिति गठन भएको छ । जसमा दुवै बैंकका तीन\तीन संचालक रहेको दुवै बैंकद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
आर्थिक वर्ष ०७१\०७२ सम्ममा माछापुच्छ्रेले ४४ अर्व २० करोड निक्षेप संकलन गरी ३४ अर्व ८१ करोड रुपैयाँ कर्जा लगानी गरी ६१ करोड ६४ लाख खुद नाफा गरेको छ । यसैगरी जनता बैंकले गत आवमा २२ अर्व ९२ करोड निक्षेप संकलन तथा १८ अर्व ४४ करोड कर्जा लगानी गरेको छ । बैंकको नाफा १५ करोड ११ लाख र जगेडा कोषमा २९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया