काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षका लागि तीन जनाको नाम सिफारीस भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. रेवतबहादुर कार्की, नीरज गिरी र डा. डण्डपाणि पौडेलाई सिफारिस गरेको हो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका मध्येबाट एक जनालाई नयाँ अध्यक्ष चयन गर्नेछ ।
प्रधानमन्त्री सुशील कोइराला तथा अर्थमन्त्री डा.रामशरण महतसँग सिफारीसमा परेका उम्मेदवारमध्ये कार्कीको सम्बन्ध नजिक भएकाले उनको सम्भावना अधिक रहेको बताइएको छ । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी कार्की नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धक भइसकेका व्यक्ति हुन् । हाल उनी बोर्डमै विज्ञ सञ्चालक र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष छन् ।
डा. पौडेल पनि नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । उनी निक्षेप तथा कर्जा सुरक्षण निगमका महाप्रबन्धक हुन् । त्यसैगरी, सिफारिसमा परेका गिरी धितोपत्र बोर्डकै कार्यकारी निर्देशक हुन् ।
वर्तमान अध्यक्ष बाबुराम श्रेष्ठको पदावधि असोज २९ मा सकिँदैछ ।
नाम सिफारिस गर्न सरकारले वाग्लेको संयोजकत्वमा अर्थसचिव सुमनप्रसाद शर्मा र विज्ञका तर्फबाट धितोपत्र बोर्डका पूर्वअध्यक्ष डम्बरप्रसाद उप्रेती सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।
बोर्डको अध्यक्ष कार्यावधि ४ वर्षको हुने व्यवस्था छ ।
प्रतिक्रिया