काठमाडौं । देशको अन्यौलग्रस्त राजनीतिक अवस्था र भारतको अघोषित नाकाबन्दीका कारण हरेक क्षेत्रमा असर परिरहेको छ । देशको उद्योग, व्यापार, यातायात, कलकारखाना, सेवा व्यवसाय चौपट छ । तर यस्तो अवस्थामा अर्थतन्त्रको व्यारोमिटर मानिने सेयर बजार परिसुचक भने उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत साताभरमा ५० अंकले उकालो लागेकोमा यो साताको पहिलो दिन आईतबार नै ३० अंकले बढेको छ । यसलाई पछिल्ला दिनहरुमा राजनीतिक सहमतिको सम्भावनासँगै लगानीकर्तामा आत्मविश्वास बढेको विश्लेषण गरिएको छ ।
राजनीतिक सहमतिपछि तराईमा जारी आन्दोलन सकिने र भारतिय नाकावन्दी समेत हट्ने र त्यसपछि बजार माथि जाने आकलनमा बजारमा सेयर किन्नेहरु बढेको विश्लेषकहरुको भनाई छ ।
आइतबार नेप्से परिसुचक ३०.९ अंकले बढेर ११०२.८४ अंकमा पुगेको छ । यसदिन ११५ कम्पनीको ३५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आइतबार अन्य सूचक स्थिर देखिए पनि अरु सबै सूचक बढेका छन् । सबैभन्दा बढी बिमा १७५.२ अंकले बढेको छ । यसैगरी ३६.१३ अंकले, होटल समूह ८.१७, जलविद्युत् १२.०३, विकास बैंक २०.३१, फाइनान्स ४.३७ र उत्पादनमूलक २०.७५ अंकले बढेको छ ।
प्रतिक्रिया