काठमाडौं । साधारण सेयर भरेर नपरेको रकम फिर्ता लिनका लागि अब लाईन बस्नु नपर्ने भएको छ । सर्वसाधारणले सेयर आवेदन भर्दा राखेको बैंक खाता नम्बरमा तपाईको सेयर नपरेको रकम सिधै जम्मा हुन्छ ।
“हाम्रो सेवा सुरु भएपछि आइपिओ आवेदनकर्ताले फारममा उल्लेख गरेको खातामा नपरेको रकम सिधै जम्मा गर्न सकिन्छ” कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले भने, “बिक्री प्रवन्धक मर्चेन्ट बैंकरले खाता नम्बर उपलब्ध गराएपछि हामी सिधै ग्राहको खातामा जम्मा गरिदिन्छौं ।”
नेपाल क्लियरिङ हाउसले संचालन गर्न लागेको अन्तरबैंक भुक्तानी प्रणाली (आइपीएस) सेवाबाट ग्राहकहरुलाई रकम फिर्ता लिनका लागि लाईन बस्नुपर्ने र बैंकमा जम्मा गर्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाई छ । कम्पनीले आगामी बैंशाखबाट सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
यस सेवा अन्र्तगत एक बैंकको खाताबाट अर्को बैंक खातामा रकम जम्मा गर्न चेक काट्नुपर्ने बाध्यता समेत अन्त्य हुनेछ । ग्राहकले अनलाईन वा एउटा फर्म भरेर सिधै अर्को बैंक खातामा रकम भुक्तानी गर्न सक्छ । अहिले एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा रकम सार्नका लागि समेत चेक नै काट्नुपर्ने बाध्यता छ ।
यसैगरी ग्राहकको रकम स्थानान्तरणका साथै बोसन, बिल, बिमा कम्पनीको प्रीमियम, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब, रेमिटेन्सलगायतका भुक्तानी सिधै सम्बन्धित व्यक्ति वा संस्थाको खातामा गर्न सकिनेछ ।
प्रधानका अनुसार यस प्रणाली अन्र्तगत ग्राहकले यी सेवाहरु लिनका लागि भने आफुले कारोबार गर्ने बैंक तथा वित्तीय संस्था यो प्रणालीबाट सदस्य हुनुपर्नेछ भने निश्चित शुल्क समेत तिर्नुपर्नेछ । यसका लागि नेपाल राष्ट्र बैंकले कार्यविधि जारी गर्नेछ ।
आपीएस सेवा संचालनका लागि अहिले क्लियरिङ हाउसले धमाधम बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिरहेको छ । हालसम्म सिद्वार्थ, सिटिजन्स, हिमालयन, एनएमबि, प्रभु, सनराइज, नेपाल इन्भेष्टमेण्ट, स्टार्डड चार्टर्ड गरी ८ बैंकका साथै कैलाश विकास बैक र र गुडविल फाइनान्ससँग सम्झौंता भइसकेको छ ।
हाल क्लियरिङ हाउसले १२५ बैंक तथा वित्तीय संस्थाका २ हजार ६३२ शाखाबाट खिचिएका चेकहरु विद्युतिय प्रणाली मार्फत राफसाफ गराउदै आएको छ ।
प्रतिक्रिया