वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चालु आवको अन्त्यसम्म ६० मेगावाट विद्युत थप हुने

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौँ । चालु आवको अन्त्यसम्म राष्ट्रिय प्रसारणमा थप ६० मेगावाट विद्युत् थप हुने भएको छ । हाल निर्माण सम्पन्न हुने र परीक्षण उत्पादनसमेत सुरु गरिरहेका ती आयोजनाले आगामी असार मसान्तसम्म सो परिणाममा विद्युत् उत्पादन गर्ने छन् । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न केही मात्रामा भए पनि सहयोग पुग्ने ठानिएका ती आयोजना एक मेगावाटदेखि २२ मेगावाट क्षमताका हुने छन् ।

निजी क्षेत्रबाट निर्माण गरिएका ती आयोजनामा छोटे खोला, भैरवकुण्ड, राधी खोला, जिरी खोला, माथिल्लो पुवा, माथिल्लो माई, माई खोला र आँधी खोला छन् । ती आयोजनामध्ये एक मेगावाटको छोटे, चार मेगावाटको राधी र ५.४ मेगावाटको भैरवकुण्डको भने परीक्षण उत्पादन सुरु भइसकेको छ । ती आयोजनाले आफूले केही दिनभित्रै व्यापारिक उत्पादन सुरु गर्ने जानकारी नेपाल विद्युत् प्राधिकरणलाई दिइसकेका छन् ।

प्राधिकरणका व्यापार शाखाका प्रमुख हितेन्द्रदेव शाक्यका अनुसार पाँच मेगावाट क्षमताको माथिल्लो हुग्दी, १० मेगावाट क्षमताको माथिल्लो माई र २२ मेगावाट क्षमताको माई खोला चालु आवको अन्त्यसम्म व्यापारिक उत्पादन सुरु हुनेछ । यस्तै ५१८ किलोवाट क्षमताको बल्खु खोला जलविद्युत् आयोजनासमेत सम्पन्न हुनेछ ।

यस्तै क्षमता वृद्धिका लागि केही समयदेखि बन्द अवस्थामा रहेको आँधीखोला जलविद्युत् आयोजना पनि असार मसान्तसम्म पूरा हुनेछ । क्षमता वृद्धि भएपछि सो आयोजनाबाट ९.४ मेगावाट बिजुली मुलुकले पाउनेछ । ती सबै आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा करिब ६० मेगावाट विद्युत् थप हुनेछ । तर ती सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण वर्षाको समयमा पूर्ण क्षमतामा सञ्चालनमा आउने भए पनि हिउँदमा भने आधाभन्दा कम क्षमतामा मात्र विद्युत् उत्पादन हुनेछ ।

हाल मुलुकभर करिब एक हजार १०० मेगावाट विद्युत् माग भए पनि वर्षामा ७५० मेगावाटमात्रै उत्पादन हुँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा मुलुक चरम ऊर्जा सङ्कट बेहोर्न बाध्य छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ