काठमाडौं । खानेतेलमा कालोबजारी गरी सर्वसाधारण उपभोक्तालाई ठगी गरेको आरोपमा केयल दुगड समूह अन्र्तगत रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका सञ्चालक किसनलाल दुगडसहित ११ जनाविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला न्यायधिवक्ताको कार्यालयले सोमबार १४ करोड रुपैयाँ बिगो दावी र १० वर्ष जेल सजाई माग गर्दै मुद्दा दायर गरेको हो । उनीहरुले धारा तोरीको तेल र सूर्यमुखी तेलमा आफूखुसी मूल्यसूची टाँसेर करोडौं मूल्यको कालोबजारी र ठगीको गरेको अभियोग छ ।
सरकारी वकीलको कार्यालयले स्वस्तिक आयलले ९ करोड ९६ लाख १३ हजार चार सय २० रुपैयाँ २२ पैसा बराबरको कालोबजारी गरेको र बिक्रीबाट तीन करोड ९२ लाख रुपैयाँ ठगी गरेको भन्दै भिन्नै पाँच वर्ष कैद र बिगोको अनुपातमा त्यति नै रकम जरिबाना गर्न समेत माग गरिएको छ ।
अभियोगपत्रमा दुगड समूहका सञ्चालक किसनलाल, उनका छोरा विकास, नरेश र कुमुद, कम्पनीका प्रबन्धक चन्द्रिकाप्रसाद कुशवाह, प्रमुख लेखापाल रमाकान्त पारिक, फ्याक्ट्री म्यानेजर प्रदीपकुमार काछेड, बिक्री डिपो इन्चार्ज अमन जैन, धर्मचन्द्र दुगड, गौतम दुगड र प्रमोदराज अधिकारीलाई सजायको माग गरिएको छ ।
यीमध्ये जैन र अधिकारीबाहेकका अभियुक्त फरार रहेकाले उनीहरूको वतनमा पक्राउ पुर्जी जारी गर्न अदालतसमक्ष माग गरिएको छ । अन्य व्यक्ति भारतमा लुकेर बसेको आशंका छ ।
प्रहरीको अनुसन्धानका क्रममा कात्तिक र मंसिरमा मात्र पाँच पटकसम्म आफूखुसी मूल्यसूची टाँसेर तेल बजारमा बिक्रीवितरण गरेको पाइएको छ ।
प्रतिक्रिया