काठमाडौं । उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले आफु सहकारी सखाप पार्न नआएको भन्दै सहकारी ऐनको मस्यौदा कानुन मन्त्रालयमा पठाउँदैमा आतंकित नहुन आग्रह गरेका छन् । राष्ट्रिय सहकारी संघको २३ औं वार्षिक साधारणसभामा बोल्दै उनले भने, ‘सहकारी ऐनको मस्यौदा कानुन मन्त्रालयमा जादैंमा सत्यानाश भयो भन्ने नठान्नुहोस्, म सहकारी सखाप पार्न आएको होइन, म पनि सहकारी बनाउन आएको हो ।’
सीमित व्यक्तिको पछि नलाग्ने स्पष्ट पार्दै मन्त्री केसीले सहकारी अभियान व्यवस्थित गर्ने आफ्नो दायित्व रहेको बताए । ‘आफ्नो र संंस्थागत स्वार्थका लागि कोही आउँछ भने कुने सम्झौता गर्दिन’ उनले भने ।
सहकारीमा विकृति, विसंगति रहेको चर्चा गर्दै मन्त्री केसीले नयाँ ऐनमार्फत सहकारीमा समस्या समाधान गरिने बताए । मन्त्रालयमा ठगिएका व्यक्तिको जुलुस आउने गरेको र उनीहरुलाई न्याय दिन सरकार कुनै हालतमा पछि नपर्ने उनको भनाई थियो ।
सहकारी मन्त्रालयका सचिव शंकरप्रशाद अधिकारीले सहकारीको वित्तिय व्यवस्थापन चुस्तदुरुस्त नभएको भन्दै व्यवस्थित गर्न मन्त्रालय क्रियाशिल भएको बताए ।
प्रतिक्रिया