काठमाडौं । सबैभन्दा ठुलो सार्वजनिक निष्काशन भनिएको जलविद्युत लगानी तथा विकास कम्पनीको शेयर आगामी पुस २७ गतेसम्म बाँडफाँट गरिने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले २७ गतेअघि शेयर बाँडफाँड गर्न नसकिने जनाएको छ ।
कम्पनीको साधारण शेयरका लागि ३ लाख भन्दा बढी आवेदन परेका कारण शेयर बाडफाँडमा असहज भएकोले शेयर बाँडफाडमा केही ढिला भएको हो । ७५ दिनसम्ममा शेयर बाँडफाँड गर्ने तयारी भएकाले २७ गतेसम्ममा शेयर बाँडफाँड गरिने छ ।
पुस २८ गतेसम्ममा जसरी पनि शेयर बाँडफँड गर्नुपर्ने बाध्यता नागरिक लगानी कोषलाई रहेको छ । कोषका प्रवक्ता सुशिल अर्याललका अनुसार कोषले शेयर बाँडफाँडको मोडेल शुक्रबार नेपाल धितोपत्र बोर्डमा बुझाउने तयारी गरेको छ ।
साना र ठूला लगानीकर्ताहरुलाई कसरी शेयर बाँडफाँट गर्ने, चिट्ठा प्रथा हुने कि नहुने लगायतका कुराहरु मोडल बाँडफाँटमा समाबेश हुने बुझिएको छ ।
कोषका अनुसार ३ लाख ४ हजार भन्दा बढी आवेदकहरुबाट ४३ अर्ब रुपैंया भन्दा बढीको आवेदन परेको छ । धितो पत्र बोर्डले ३ लाख भन्दा बढी आवेदन परेको अवस्थामा ७५ दिन भित्रमा शेयर बाँडफाँट गर्नु पर्ने व्यवस्था गरेको छ ।
प्रवक्ता अर्यालका अनुसार शेयर बाँडफाँट भएको एक साता पछिमात्र शेयर नपरेको रकम फिर्ता गर्न सुरु गरिने छ । सोमबार बाँडफाँट भएमा जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरका आवेदकहरुले माघ ३ गते आइतबारबाट रकम फिर्ता पाउने छन् ।
२ अर्ब रुपैंयाका लागि जलविद्युत लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि गत कात्तिक १२ गते बिहीबारदेखि साधारण शेयर निष्काशन गरेको थियो । १६ गतेसम्मका लागि निष्काशन गरिएको शेयर विसम परिस्थितीको कारण देखाउँदै कात्तिक १९ गतेसम्मा भर्न सकिने व्यवस्था मिलाइएको थियो । २ अर्बका लागि परेको आवेदन रकमका आधारमा साढे २२ गुणा भन्दा बढी हो ।
हाल ८ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले १० अर्ब चुक्ता पूँजी पुर्याउनका लागि साधारण शेयर निष्काशन गरेको हो । २०६८ साउनमा स्थापना भएको कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारी पूँजी १० अर्ब तथा चुक्तापूँजी ८ अर्ब रुपैयाँ रहेको छ । चार वर्षअघि स्थापना भएको कम्पनीले आफ्नो निर्धरित चुक्ता पूँजी १० अर्ब पुर्याउन सर्वसाधारणलाई २ अर्ब रुपैंया बराबरको शेयर जारी गरेको हो ।
प्रतिक्रिया