काठमाडौं । भूकम्प पिडितहरुलाई अब घर बनाउनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितो नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले भूकम्प प्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निमाणका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि’ संसोधन गरी पिडितहरुले लघुवित्त संस्थाहरुबाट सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ ।
यसअघि लघुवित्त संस्थाको सिफारीसमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले धितो लिएर २ लाख रुपैयाँसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । धितो नभएका सर्वसाधारणले बैंकबाट कर्जा लिन नसक्ने अवस्था भएको गुनासो आएपछि राष्ट्र बैंकले धितो हुनैपर्ने प्रावधानलाई लचिलो बनाएको हो ।
कार्यविधिमा भूकम्प पिडितले निर्माण गर्ने घर राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना गरेको हुनुपर्ने व्यवस्था थप गरिएको छ । यसैगरी लघुवित्त विकास बैंकको सिफारीसमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले समेत यो कर्जा लगानी गर्न पाउने व्यवस्था भने कायमै छ ।
भूकम्प पिडितले यो कर्जा २ प्रतिशत व्याजदरमा पाउनेछन् । यसका लागि बैंकहरुलाई राष्ट्र बैंकबाट शुन्य व्याजदरमा पूर्नकर्जा दिनेछ ।
राष्ट्र बैंकले धितो लिएर भूकम्प पिडितहरुका लागि काठमाडौं उपत्यकामा २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म सहूलियत ऋण दिने घोषणा गरेको थियो । तर हालसम्म पिडितहरु बैंक ऋणका लागि भने गएका छैनन् । कार्यविधिको प्रावधानहरु कडा भएकाले लगानी नभएको बताइएको छ ।
प्रतिक्रिया