काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति बढेपनि आयल निगमले व्यवस्थित वितरण गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् आइताबार मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरुले भारतबाट ४० प्रतिशत पेट्रोलियम पदार्थ आएपनि आयल निगमले व्यवस्थित रुपमा वितरण नगर्दा समस्या भइरहेको बताएका हुन् ।
भारतबाट पेट्रोलियम पदार्थ आएर निगमको मौंज्दात भरिदै गएपनि वितरणमा भने उदासिन देखिएपछि आपूर्ति मन्त्रालयले छलफल अघि बढाएको हो ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले रक्सौंल वाहेकका नाकाबाट ४० प्रतिशत पेट्रोलियम पदार्थ आइरहेपनि निगमको वितरण प्रणाली प्रभावकारी नभएकोले अभाव चर्किएको हो ।
उनका अनुसार पेट्रोलियम पदार्थको कुल खपतमध्ये ४० प्रतिशत औद्योगिक क्षेत्रमा हुने गर्दछ तर अहिले औद्योगिक कलकारखाना चलेका छैनन् । उनले निगमले भारतबाट आइरहेको पेट्रोलियम पदार्थ केन्द्रमा राखेर समस्या सिर्जना गरेको आरोप लगाए ।
‘निगमका डिपो प्रमुखले भारतबाट भित्रिएको तेल पनि नखन्याई राखेको छ , ‘केन्द्रीय कार्यालयको यो नियन्त्रण प्रणाली हटाएर सहज वितरणमा सहयोग पु¥याउने काम तत्काल होस् प्रधानले भने ।’
नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर वोहोराले स्थलमार्गबाट दैनिक एक लाख लिटर हवाई इन्धन ल्याउने ग्यारेन्टी हुँदा पनि एयरलिफट्मार्फत महँगोमा ल्याइएको आरोप लगाए ।
उनका अनुसार निगमले एयरलिफ्टमार्फत १ सय ८३ रुपैयाँ तिरेर हवाई इन्धन ल्याइरहेको र स्थलमार्गबाट ल्याउँदा एक लिटरको ७० रुपैयाँ मात्रै पर्छ । छलफलमा आपूर्ति सचिव विष्णु लम्सालले वितरण प्रणाली प्रभावकारी बनाउन निगमका अधिकारीलाई समेत छलफलमा बोलाउने निर्णय गरेका छन् ।
प्रतिक्रिया