वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाकावन्दीका कारण सरकारको नियन्त्रण बाहिर गयो बजार, मुल्यबृद्धि ५७३ प्रतिशतसम्म

अर्थटुडे
२०७२ माघ ७, बिहीबार

काठमाडौं । भारतीय नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तुको भाउ सरकारको नियन्त्रण भन्दा बाहिर गएको छ । दैनिक उपभोग्य बस्तुको भाउमा भारी बृद्धि भएको र सो सरकारको नियन्त्रण भन्दा निक्कै बाहिर गएको नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको सर्वेक्षणमा देखाएको छ ।sejon

सेजनले नाकाबन्दी अघि र पछिको मूल्य र उपलब्धता बारे पुस महिनालाई आधार मानेर गरेको सर्वेक्षणले दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धी अत्यधिक भएको र सरकारको नियन्त्रण भन्दा बाहिर गएको देखाएको हो ।

विहिबार सार्वजानिक गरेको सो सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी पेट्रोलियम पदार्थको मुल्य ५७३ प्रतिशतसम्म बढेको छ । त्यस्तै विद्युतीय हिटरको मूल्य ५ सय प्रतिशतसम्म बढेको छ ।

खाना पकाउने एलपी ग्याँसको मुल्य पनि ४७१.४२ प्तिशतले बढेको छ भने डिजेल प्रति लिटर ३३२.०९ प्रतिशतले बढेको सेजनको तथ्यांकले जनाएको छ ।
तरकारीको मुल्य भने केही घटेको छ । प्याज, काउली र बन्दाको भाउमा भने गिरावट आएको छ ।

भारतले दक्षिणी सीमामा नाकाबन्दी गरेपछि खाद्यान्नमा १ सय ५० प्रतिशतसम्म, विद्युतीय सामानमा ५ सय प्रतिशतसम्म, दाउरामा ३ सय प्रतिशतसम्म, खाना पकाउने ग्यासमा ४ सय ७१ प्रतिशतसम्म मुल्य बृद्धि भएको छ ।
त्यस्तै निर्माण सामग्रीमा १ सय प्रतिशतसम्म, होटेल रेष्टुरेण्टको मेन्यूमा ६६ प्रतिशतसम्म र तरकारीमा एक सय प्रतिशतसम्म मुल्य वृद्धि भएको अध्ययनले देखाएको छ । तर, बजारमा अभाव भए पनि औषधीको मूल्यमा भने खासै परिवर्तन भएको छैन ।

अध्ययनले खाद्यान्नमा खानेतेल र दालको मूल्यमा उच्च वृद्धि भएको देखाएको छ । सनफ्लावर र भटमासको तेलमा क्रमशः १५० र १२५ प्रतिशत मूल्य बढ्यो भने मुंग दाल र ठूलो मास दाल किन्दा क्रमशः ८७ र ७९ प्रतिशत बढी मूल्य तिर्न उपभोक्ताहरु बाध्य भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसले निम्न वर्ग र ज्यालामजदुरी गरेर छाक टार्ने जनताहरु नराम्रोसँग प्रभावित भएको अध्ययनले देखाएको छ । अन्य समयमा त्यति प्राथमिकतामा नपरेको माटोको हिटरको मूल्यसमेत ५०० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

यस अध्ययनमा ठूला होटल, डिपार्टमेण्टल स्टोर, व्यवसायिक कम्पनीभन्दा पनि मध्यम खालका होटल, पसल, व्यवसायिक कम्पनीहरुको मुल्यलाई आधार मानिएकोले यथार्थ तथ्यांक आएको सेजनले दावी गरेको छ ।

अध्ययनमा खाद्यान्न, तरकारी, विद्युतीय तथा अन्य चुल्हो, दाउरा तथा कोइला, इन्धन, निर्माण सामग्री र होटल तथा रेष्टुराँको मेन्यूको मूल्यलाई समावेश गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ