काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्रालयले अघि बढाएको सहकारी ऐनप्रति यतिवेला तिव्र वहस भइरहेको छ । ऐनका प्रावधानलाई लिएर सहकारी अभियानले मन्त्रालयलाई सहकारी विरोधी भएको आरोप लगाइरहेको छ भने मन्त्रालयले सहकारी नेताहरु केही व्यक्तिको स्वार्थका आधारमा सहकारी ऐनको विरोध गरिरहेको आरोप लगाइरहेको छ । मन्त्रालयका अधिकारी र सहकारी नेताहरुबिचको यो जुहारी मंगलबार नेपाल सहकारी पत्रकार समाजले गरेको अन्र्तकृया कार्यक्रममा समेत देखियो ।
कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले नयाँ सहकारी ऐन जारी भए पछि अहिले देखिएका समस्याहरुको निराकरणको प्रकृया सुरु हुने बताए । अहिले आउने ऐन कसैलाई सिध्याउने र बचाउने भन्दा पनि सबैको हितलाई केन्द्रमा राखेर ल्याउन लागेको उनको दावी छ ।
सचिव अधिकारीले सहकारीको व्यवस्थापनका लागि नयाँ ऐन ल्याउन लागिएको बताए । समस्या समाधान गर्न नसक्दासम्म सहकारी अभियान पनि अघि बढ्न नसक्ने उनको भनाई थियो । सञ्चालक र कार्यकारी एउटै हुदाँ व्यक्तिगत स्वार्थ बढ्ने भएकाले सञ्चालक कार्यकारी राख्न नहुने बताए ।
सचिव अधिकारीले सहकारीमा समस्या देखिए व्यवस्थापन समिति गठन गरेर संकटग्रस्त घोषणा गर्न सकिने र व्यवस्थापन हातमा लिन सकिने उनले बताए । सहकारीको ऋण जोखिम न्यूनिकरण गर्नका लागि सञ्चालकबाट बिगो असुली र जरिवाना तिराउने व्यवस्था गरिएको उनले बताए ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारीलाई ठेगान लाउन नसके बैंक धराशायी हुन्छन् भन्ने मनसायले सहकारी ऐन मस्यौदा गरिएको आरोप लगाए । यो ऐन हाम्रा लागि होइन् ,सहकारीलाई धराशायी बनाएर बैंकको प्रवद्ध्रन गर्नका लागि हो, उनले भने ।
सहकारीको खराब बिषयलाई निरुत्साहित गर्नु कुनै आपत्ति नभएको उनले बताए । सहकारीलाई नियन्त्रण गरेर जान नहुने उनको भनाई थियो । गल्ती गर्नेलाई दण्ड दिनु विमती होइन तर सहकारीको गतिशिलतालाई रोक्ने काम गर्न नहुने बडालले बताए ।
बैंकको स्वार्थमा सहकारी ऐन ल्याउन लागिएको अध्यक्ष बडालले आरोप लगाए । सहकारी फस्टाए बैंक धराशायी हुने डरले बैंकको रुचीमा ऐन ल्याउन लागिएको उनको आरोप थियो ।
ललितुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले सहकारीको दर्ता खारेज गरेर लिक्युडेटरमा जाने व्यवस्था नमिलेको बताए । सहकारीकर्मीले गल्ती गर्ने सहकारीलाई तथा सञ्चालकलाई कारवाही गर्न कुनै अवरोध नगर्ने बताए । ऐनको प्रस्तावानामै सहकारी अधिनमा राख्ने व्यवस्था राखिएकोमा आपत्ति जनाए ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीको बिकासका लागि तगारो हाल्न होइन, व्यवस्थित गर्न जरुरी रहेको भन्दै उनले भने तपाईहरु कसलाई खुसी पार्न ऐन ल्याउँदै हुनुहुन्छ भन्दै प्रश्न गरे । प्रस्तावित ऐन अहिलेकै अवस्थामा क्याबिनेटबाट पास भएपनि संसदबाट पास हुन नदिने उनले चेतावनी दिए ।
प्रतिक्रिया