काठमाडौं । कुवेतको आवासीय कानून उल्लंघन गरी गैर कानूनीरुपमा बसोबास गर्दै आएका विदेशी कुवेत सरकारले दुईवटा अफर ल्याएको छ । गैरकानुनी रुपमा बस्दै आएका कामदारहरुलाई जरिवाना तिरेर आफ्नो देशमा र्फकन वा दूताबासबाट भिसाल लगाएर कुवेतमै बस्न यी दुई मध्ये एक रोज्न पाउने गरी त्यहाँको सरकारले सो सुचना जारी गरेको हो ।
कुबेत सरकारको ‘डिपार्टमेन्ट अफ रेसिडेन्सी अफियर्स’ ले गत १० जनवरीमा सो सुचना जारी गरेको हो । विनाभिसा काम गर्ने अवैधानिक कामदारको समस्यालाई हल गर्नको लागि कुवेत सरकारले विकल्पसहितको सुचना जारी गरेको हो । यसअघि पनि अवेैधानिक कामदारहरुको समस्या हल गर्नको लागि विकल्प सहितको यस्तो सूचना जारी गरेपनि सो समस्या अझै छ ।
कुवेतस्थित नेपाली राजदुतावासका अनुसार कुवेतमा करिव ४ हजार नेपाली गैरकानुनीरुपमा बसोबास गर्दै आएका छन् । कुवेत सरकारको अनुसार कुवेतमा करिव ६१ हजार नेपालीहरु यहाँ काम गरिरहेको भएपनि नेपाली राजदुतावासले भने करिब २४ हजार नेपालीहरु कुवेतमा काम गरिरहेका छन् ।
वैधानिक रुपमा यसरी आकडाँ निस्किएपनि अवैधानिक रुपमा कुबेतका कार्यरत नेपालीको यकिन संख्या पाउन गाह्रो छ । सो सुचना अनुसार भगौडा कामदार र अपराधमा संलग्न बाहेकलाई सो सहुलियत कुवेतको सरकारले दिएको हो । सो सहुलियत नेपाली कामदारहरुले पनि लिन सक्नेछन् ।
गैरकानूनी रुपमा कुवेतमा बसोबास कामदारले आफ्नो पासपोर्ट वा ट्राभल डकुमेन्टका आधारमा जरिवाना तिरी ‘इक्जिट भिसा’ लिन पाउने छन् । र, यस्तो भिसा लिएपछि नेपाल र्फकन पाउने छन् ।
यसरी कागजात देखाएर नेपाली कामदारले कुवेतका ६ स्थानका गभर्नोरेटहरुमा सम्पर्क गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ । ती ६ स्थानहरुमा हवाली, मुबारक, अल—काबिर, अल—असिमाह, फारवानिया, जहरा र अहमादी अन्तरगतका भिसा कार्यालयरविभाग वा आवासीय मामिला विभागहरु छन् ।
त्यहाँ गएर नेपालीहरुले स्वदेश र्फकनका लागि एक्जिट भिसा लिन सक्ने नेपाली दूतावासले जनाएको छ । जरिवाना तिरेर भिसा लिन चाहेमा गैरकानुनी रुपमा बसोबास गरेका कामदारले कुवेत सरकारलाई प्रतिदिन २ कुबेती दिनार तिर्नुपर्छ । अधिकतम शुल्क ६ सय दिनार लाग्ने बताइएको छ ।
जरिवाना तिर्ने बेलामा नै कुबेत छाडेर र्फकने मिति सरकारले तोकिदिने छ । र,सोही तोकिएको मितिमा सो व्यक्तिले आफ्नो देशमा फर्किइसक्नुपर्ने छ । आफूसँग कुनैपनि कागजात नभएको तर कुनै मुद्दा मामिला नलागेका कामदारले आफूलाई पायक पर्ने स्थानको आवासीय मामिला विभागमा गई फिंगरप्रिन्ट गराएपछि प्राप्त हुने कागजका साथमा ट्राभल डकुमेन्टसमेत पेश गरी जरिवाना तिरेपछि आफ्नो देश र्फकन पाउने छन् ।
विनाभिसा कुवेतमा बस्दै आएका कामदारले स्वदेश नफर्किई त्यहीँ बसेर बैधानिकरुपमा रोजगारी गर्छु भन्ने ठानेमा त्यसो गर्न पनि पाउने छन् । तर, यसरी भिसा थपेर बस्न चाहनेहरुका लागि पुरानो स्पोन्सर (रोजगारदाता) ले ‘रिलिज पेपर’ दिएपछि मात्र नयाँ स्पोन्सरले भिसा लगाउन सक्नेछ । तर, उजुरी परेकाहरुको हकमा यो व्यवस्था लागू हुने छैन । विनाभिसा काम गरेर जरिवाना तिरी नेपाल फर्केका कामदारले फेरि कुवेत जाने अनुमति पनि पाउँनेछन् ।
प्रतिक्रिया