वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीयको विरोध हुन थालेपछि जलविद्युत आयोजनाले सेयर दिन थाले

अर्थटुडे
२०७२ फाल्गुन ७, शुक्रबार

काठमाडौं । विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएका अधिकांश जलविद्युत् कम्पनीले आयोजनाप्रभावित स्थानीयका साथै सर्वसाधारणलाई सेयर दिन थालेका छन् ।

प्रवद्र्धकले कम्पनीको लगानी संरचना परिवर्तन गरी सर्वसाधारण र आयोजनाप्रभावितलाई न्यूनतम् १० देखि ३० प्रतिशतसम्म सेयर सुनिश्चित गर्न थालेका छन् । प्रभावित स्थानीय र सर्वसाधारणले जलविद्युत्मा लगानीको चासो देखाउन थालेपछि प्रवद्र्धकले आयोजना बनाउन उनीहरूबाट लगानी उठाइरहेका छन् ।

ipoनेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्म ८ जलविद्युत् कम्पनीका ९ करोड ६१ लाख कित्ता सेयर सूचीकृत छन् । पछिल्लो समय कतिपय कम्पनीले आयोजनाप्रभावित बासिन्दाका अतिरिक्त सर्वसाधारणलाई सेयर निष्कासन गरिसकेका छन् । लाइसेन्स पाएका केही आयोजनाले आयोजना बनाउन प्रभावित र सर्वसाधारणलाई धमाधम लगानी जुटाइरहेका छन् ।

स्थानीयले सेयर माग्दै आयोजनाको काम अवरुद्ध गर्न थालेपछि जलविद्युत् कम्पनीहरू उनीहरूलाई १० प्रतिशतसम्म सेयर दिन बाध्य भएका छन् । आयोजनाको काम सुरु हुनुअगावै प्रवद्र्धकले सर्वसाधारणबाट लगानी उठाउन थालेका छन् । आयोजनामा ठूलो रकम आवश्यक भएपछि प्रवद्र्धकले सेयर निष्कासन गर्न लागेका छन् ।

स्थानीयलाई सेयर दिनुपर्ने व्यवस्था भने ऐनमा छैन । प्रस्तावित जलविद्युत् ऐनले बढीमा १० प्रतिशतसम्म सेयर दिनुपर्ने कानुनी प्रावधान ल्याउँदैछ । धितोपत्र निष्कासन नियमावलीले सर्वसाधारणका लागि सेयर जारी गरेका जलविद्युत् कम्पनीले न्यूनतम् १० प्रतिशत स्वामित्व स्थानीयलाई दिने व्यवस्था गरेको छ । सेयर जारी गर्न नचाहने आयोजनाले स्थानीयलाई सेयर दिनैपर्ने बाध्यता छैन ।

स्थानीयलाई १० प्रतिशतसम्म लगानी गर्न दिने भएपछि सर्वसाधारणलाई सेयर किन नदिने भन्ने प्रश्न उठ्न थालेपछि आयोजनाहरूले उनीहरूलाई पनि लगानी खुला गरेको सानिमामाई हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठ बताउँछन् । सानिमामाईले इलाममा २९ मेगावाट क्षमताका २ आयोजना सम्पन्न गरी स्थानीय र सर्वसाधारणलाई सेयर निष्कासन गरिसकेको छ । नेप्सेमा सानिमाको १ करोड ५ लाख कित्ता सेयर सूचीकृत छ ।

“सेयर दिएर आयोजनाको काममा सहज हुन्छ भने उनीहरूलाई लगानी गर्न किन नदिने ?” उनले प्रश्न गरे, “सेयर दिएपछि आयोजना बनाउन लगानी जुट्ने भयो भने अर्कोतर्फ सबैको अपनत्व हुन्छ । त्यसैले सबैलाई लगानी गर्न दिनुपर्छ ।” सेयर दिएपछि प्रवद्र्धकले कम्पनी छाड्ने अवस्था आउन नहुने उनको भनाइ छ ।

आयोजनाको वास्तविक मूल्य जान्न सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने अवस्था आएको युनाइटेड मोदी हाइड्रोपावरका अध्यक्ष सुकुन्तलाल हिराचन बताउँछन् । “तल्लो मोदीको मूल्य यति हो भन्न सकिन्न,” उनी भन्छन्, “सर्वसाधारणलाई सेयर बेचेको भए मैले आज आयोजनाको मूल्य थाहा पाउने थिएँ । त्यसैले म सेयर निष्कासन गर्दैछु । बजारमा सेयर कारोबार भएपछि कम्पनीको वास्तविक मूल्य थाहा पाउन सकिन्छ ।” युनाइटेड मोदीले १० मेगावाटको तल्लो मोदीको सेयर सर्वसाधारणलाई निष्कासन गर्दैछ ।

नेपालको पुँजीबजारमा बैंकरवित्तीय संस्था र बिमा कम्पनीको प्रभुत्व छ । बजारमा उत्पादनमूलक क्षेत्रको प्रवेश नगन्य छ । नेप्सेमा टेलिकम, होटलगायत केही कम्पनीको सेयर कारोबार हुने गरेको छ । हालसम्म अपी पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनी, बुटवल पावर कम्पनी, अरुणभ्याली हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर र रिडी हाइड्रो पावर गरी ८ जलविद्युत् कम्पनीको मात्र नेप्सेमा सेयर सूचीकृत छ । त्यस्तै, ५ मेगावाटको सिउरीखोला आयोजना र सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)ले सर्वसाधारणबाट लगानी उठाएका छन् । एचआईडीसीएलले २ करोड कित्ता सेयर निष्कासन गरिसकेको छ । यी २ कम्पनीको सेयर नेप्सेमा सूचीकरण हुन भने बाँकी छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान)का महासचिव तथा नेसनल हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार पाण्डे पनि जलविद्युत् आयोजनाले स्थानीयका अतिरिक्त सर्वसाधारणलाई लगानी गर्न दिनुपर्ने बताउँछन् ।

संविधानले पनि स्थानीयलाई सेयर दिनुपर्ने व्यवस्था गरेकाले सबै कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने बाध्यत्मक अवस्था आएको सेयर विश्लेषक रवीन्द्र भट्टराई बताउँछन् । माथिल्लो तामाकोसीलगायत केही ठूला आयोजनाको सेयर बजारमा आएपछि नेपालको पुँजीबजारमा जलविद्युत् पुँजीकरण आधा हुने उनको दाबी छ । सर्वसाधारणका लागि सेयर निष्कासनपछि कम्पनीको यथार्थ बजारमूल्य जानकारी हुनुका साथै सहज रूपमा किनबेच हुने भट्टराई बताउँछन् । “हाल जलविद्युत् कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम् ४०० रुपैयाँभन्दा बढी छ,” उनले भने, “प्रतिफल आउने क्षेत्र भएकाले जलविद्युतमा सर्वसाधारणको चासो बढेको छ ।”

धितोपत्र बोर्डका अनुसार सिनर्जी, दिव्यश्वरी, अरुण कावेली र खानीखोला आयोजनाले स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासनको तयारी गरिरहेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५८ मेगावाटको माथिल्लो सान्जेन र सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसीलगायत सानाठूला अधिकांश आयोजनाले प्रभावित स्थानीय र सर्वसाधारणलाई सेयर निष्कासन गर्दैछन् । विदेशी लगानीमा बन्न लागेका ९र९०० मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाले प्रभावित बासिन्दालाई ३ करोड २० लाख कित्ता सेयर दिने भएको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ