काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा अधिकांश बैंकहरुको नाफा बढेको छ । भूकम्प र नाकावन्दीका कारण अर्थतन्त्र प्रभावित भइ बैंकहरुको नाफा घट्ने आकलनका भईरहदा ७ वटा बैंकको मात्र नाफा घटेको देखिएको छ । विशेष गरी राष्ट्र बैैंकले व्यवसायीलाई ऋण तिर्न चैतसम्मको सहूलियत दिएको र बैंकहरुले पनि जोखिम वापतको व्यवस्था गर्नु नपरेका कारण नाफामा असर नगरेको हो ।
बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार ३० वाणिज्य बैंकले झण्डै १५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । यसअवधिमा चार वाणिज्य बैंकले भने एक अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३० वाणिज्य बैंकले १४ अर्ब ८३ करोड ६४ लाख रुपैंया खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको दास्रो त्रैमासमा ३० वटा वाणिज्य बैंकले १४ अर्ब ५३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएका थिए ।
यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने जनता बैंकले सबैभन्दा कम नाफा गरेको छ । सबैभन्दा धेरै नबिल बैंकले एक अर्ब ३५ करोड १२ लाख रुपैंया खुद नाफा कमाउँदा जनता बैंकले १३ करोड ८० लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
चालु आर्थिक बर्षको पहिलो ६ महिनाको अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब रुपैयाँ भन्दा धेरै नाफा गरेका हुन् । नबिल बैंकले यसअवधिमा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । नबिलको नाफा गत वर्षको भन्दा २४ करोड रुपैयाँले बढेको हो ।
वाणिज्य बैंकको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । जसले एक अर्ब सात करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा दुई सरकारी बैंकले पनि एक अर्ब बढिको नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ ।
३० वाणिज्य बैंकमध्ये ७ वटा बैंकको मात्रै नाफा घटेको छ । राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डु र सिभिल बैंकको नाफा घटेको छ ।
यसवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब बढिले घटेको छ । गत बर्ष इन्भेष्टमेन्ट बैंकको शेयर बिक्री गरेका कारण राष्ट्रिय वाणिज्य बैंकको नाफा उच्च देखिएको थियो । कृषि विकास बैंकको १५ करोड, प्रभुको करिब १४ करोड, सिभल बैंकको २ करोड, एभरेष्ट्र बैंकको २ करोड र बैंक अफ काठमाण्डुको झण्डै १७ लाख रुपैंयाले नाफा घटेको छ ।
प्रतिक्रिया