काठमाडौं । चालु आर्थिक वर्षको पुसमा मूल्यवृद्धि दोब्बर भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको पुसमा मूल्यवृद्धिदर ६.८ प्रतिशत रहेकोमा चालु आवको पुसमा दोब्बरले बृद्धि भई १२.१ प्रतिशत पुगेको हो ।
तराईको आन्दोलन र भारतको अघोषित नाकावन्दीका कारण गत भदौदेखि मूल्यवृद्धि लगातार बढिरहेको छ । चालु आवको पहिलो महिना साउनमा ६.९ प्रतिशतमा सिमित रहेको मूल्यवृद्धिदर भदौमा ७.२ प्रतिशत, असोजमा ८.३, कात्तिकमा १०.४, मंसिरमा ११.६ प्रतिशत कायम हुँदै पुसमा ११ प्रतिशत भन्दा माथि उक्लिएको हो । तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज हुदैं गएकाले गत भदौ महिनादेखि सुरु भएको मूल्य वृद्धि आगामी महिनादेखि घटदै जाने राष्ट्र बैंकको विश्लेषण छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा चालु आवको पुसमा दलहन तथा गेडागुडीका साथै घ्यू तथा तेल, मसला, मासु तथा माछा, लत्ता कपडालगायतका बस्तुहरुको मूल्यवृद्धी उच्च भएको छ । दलहन तथा गेडागुडीको मूल्य ४६.९ प्रतिशत र घ्यू तथा तेलको मूल्य ३१.३ प्रतिशतले बढेको छ । साथै मसला, मासु तथा माछा, लत्ता कपडा तथा जुत्ताको मूल्यमा १७.६ प्रतिशत, १६.८ प्रतिशत र १३.७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.८ प्रतिशत मूल्यवृद्धि भएको छ । यसैगरी पहाडमा १२.१ प्रतिशत, तराईमा १०.७ प्रतिशत र हिमालमा १० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया