काठमाडौं । तराईको आन्दोलन र भारतको अघोषित नाकावन्दीका कारण ५ महिना अघिदेखि लगातार उकालो लाग्न थालेको मूल्यवृद्धिदर रोकिएको छ । नाकावन्दी हटेसँगै आयात\निर्यात सहज भएपछि मुल्यवृद्धिदर खुम्चिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा चालु आवको माघमा मूल्यवृद्धि ११.३ प्रतिशत कायम भएको उल्लेख छ । पुसमा मूल्यवृद्धिदर १२.१ प्रतिशत पुगेको थियो ।
तराईको आन्दोलन र भारतको अघोषित नाकावन्दीका कारण गत भदौदेखि मूल्यवृद्धि उकालो लाग्न थालेको थियो । साउनमा ६.९ प्रतिशतमा सिमित रहेको मूल्यवृद्धिदर भदौमा ७.२ प्रतिशत, असोजमा ८.३, कात्तिकमा १०.४, मंसिरमा ११.६ प्रतिशत कायम हुँदै पुसमा १२ प्रतिशत भन्दा माथि उक्लिएको थियो । तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज भएपछि मूल्य वृद्धि घट्न थालेको र आगामी महिनामा अझै घट्ने राष्ट्र बैंकको विश्लेषण छ ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार माघमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि सबैभन्दा उच्च छ । यस अवधिमा दलहन तथा गेडागुडीको मूल्य ३९.७ प्रतिशत र घ्यू तथा तेलको मूल्य २३.१ प्रतिशतले बढेको छ । साथै मसला, मासु तथा माछाको मूल्य १९.२ र लत्ता कपडा तथा जुत्ताको मूल्य १४.९ प्रतिशतले मूल्य बढेको छ ।
प्रतिक्रिया