वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिक्दैन बैदेशिक रोजगार बचतपत्र न्यून आकर्षण, रेमिट्यान्सलाई उत्पादनमा लगाउने सरकारी योजना विफल

अर्थटुडे
२०७२ चैत्र १९, शुक्रबार

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि बैदेशिक रोजगार बचतपत्र मार्फत पुँजी संकलन गर्ने सरकारी कार्यक्रम असफल देखिएको छ । सरकारले ७ वर्षदेखि बचतपत्र जारी गर्दै आएपनि न्यून मात्र बिक्री हुने गरेको छ ।

remittance
सरकारले आर्थिक वर्ष २०६६\०६७ देखि बचतपत्रको अवधारणा सुरु गरेको थियो । उक्त वर्ष नेपाल राष्ट्र बैंकले पहिलोपटक १ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गरेकोमा ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो ।

त्यसयता प्रत्येक वर्ष जारी भएका बचतपत्रको बिक्रीमा केही वृद्धि देखिएपनि जारी सबै बिक्री भने हुन सकेको छैन । हालसम्म सबैभन्दा बढी बचतपत्र बिक्री गत आर्थिक वर्षमा जारी रकमको एक तिहाई बिक्री भएको थियो । गत वर्ष २५ करोडको बचतपत्र जारी भएकोमा ८ करोड ३७ लाख बराबरको बिक्री भएको थियो ।

हालसम्म राष्ट्र बैंकले ८ अर्व ७५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र जारी गरिसकेपनि त्यसको साढे २ प्रतिशत ( २१ करोड ९० लाख २५ हजार) मात्र बिक्री भएको छ ।

“बचतपत्र खरिदका लागि सर्वसाधारणमा खासै आकर्षण देखिएको छैन” नेपाल राष्ट्र बैंक अन्र्तगतको सार्वजनिक ऋण व्यवस्थापन विभागका प्रमुख डा.मिनकुमार श्रेष्ठले भने, “लक्षित वर्गसम्म प्रचारप्रसारको अभावमा यसको बिक्री हुन नसकेको हो ।”

सुरुवाती वर्षहरुमा न्यून मात्रमा बिक्री हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने बिक्रीदरमा केही सुधार देखिएको छ । न्यून मात्र बचतपत्र बिक्री भएपछि राष्ट्र बैंकले ०७० मा ‘बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने कार्यविधि–०६७’ संसोधन गरेपनि बिक्रीमा सुधार भएको प्रमुख श्रेष्ठको तर्क छ ।

कार्यविधिमा विदेशमा काम गर्ने नेपालीले बैदेशिक मुद्रामा मात्र बचतपत्र किन्न सक्ने व्यवस्थाका कारण खासै आवेदन नपरेको र अहिले कार्यविधिमा संसोधन गरी नेपालबाट पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेको वा मुलुक बाहिरको रोगजारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा परिवारका सदस्यले उक्त बचतपत्र खरिद गर्न पाउनेछन् । परिवारका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा भन्दा बचतपत्र खरिदमा धेरै फाइदा हुने भएपनि यसको प्रचार गर्न नसकिएको श्रेष्ठ बताउँछन् । “यसवर्ष हामीले विभिन्न देशमा प्रचार कार्यक्रम गर्न प्रस्ताव गरेका थियौं” उनले भने, “अर्थले बजेट नदिदा सम्भव भएन ।”

अहिले बैंकहरुले बचतमा ४\५ प्रतिशतसम्म व्याज दिएको अवस्थामा बचतपत्रको लगानी फाइदाजनक छ । गत सातामात्र खुलेको बैदेशिक रोजगार बचतपत्र २०७७ (क) को व्याजदर पनि ९ प्रतिशत रहेको छ । यसैगरी बचतपत्र धितो राखी कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने सुविधा पनि रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ