पोखरा । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्ने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको वुधबार शिलान्यास गरेका छन् ।
सो विमानस्थल बनाउनका लागि चीनको एक्जिम बैंकले ऋण तथा अनुदान दिने भएपछि विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । प्रधानमन्त्रीको चीन भ्रमणमा यो विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकसँग ऋण तथा अनुदान सम्झौता भएको थियो ।
क्षेत्रीयस्तरको अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ कर्जा उपलब्ध हुनेछ । यो कर्जाको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । विमानस्थलको लागत निकै बढी भएको भनेर ठूलो विवाद भएपछि चिनियाँ पक्षले २५ प्रतिशत रकम अनुदान स्वरुप उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।
अनुदान पछि बाँकी रहने पैसामा नेपालले वार्षिक दुई प्रतिसत व्याज तिर्नुपर्छ । तर यो व्याज आगामी सात वर्षपछि सुरु हुनेछ । आगामी चार वर्षमा निर्माण सक्ने र पाँच वर्षभित्र विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइसक्ने योजना छ । विमानस्थल सञ्चालनमा आइसकेपछि मात्रै नेपालले व्याज तिुर्नपर्छ ।
पोखरा उपमहानगरपालिकाको छिनेडाँडामा बन्ने विमानस्थलको लागि छ आवश्यक पर्ने जग्गामध्ये करिव ९० प्रतिशत अधिग्रहण सकिएको छ,भने तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ । सो विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विमानस्थल निर्माण भएपछि समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताए । त्यसैगरी विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौँ पोखरा र लुम्बिनी जोड्ने रेल्वेबारे चीनले निशुल्क सर्भे गरिदिने समेत बताए ।
उनले चार बर्ष भित्र पोखरामा क्षेत्रीय विमानस्थ निर्माण सम्पन्न हुदैँगर्दा रेल्वे लाइन विस्तार सुरु हुने अपेक्षा आफूले राखेको बताए । रेलवेमार्ग बनेपछि रेल ल्हासाबाट केरुङ, काठमाडौं हुँदै पोखरा र लुम्बिनी सम्म जाने प्रचण्डले बताए ।
प्रतिक्रिया