काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढ्ने क्रम सोमबार पनि जारी रह्यो । सोमबार नेप्से परिसूचक ७ अंकभन्दा धेरैले बढेर १४६१.७५ अंकमा पुगेको छ । सोमबार अधिकांश वाणिज्य बैंकको सेयर मूल्य बढेपछि परिसूचक बढेको हो ।
अर्थतन्त्रमा मन्दी आएसँगै लगानीको क्षेत्र नहुँदा सेयरमा लगानी बढेको र यसबाट बजार दिनहुँ उकालो लाग्न थालेको विश्लेषण गरिएको छ । लगातार उकालो लागेको बजारले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ ।
सोमबार कारोबार सुरु हुँदा १४५४.३५ अंकमा रहेको नेप्से परिसूचक ७.४ अंकले बढेर १४६१.७५ अंकमा पुगेको छ । यो हालसम्म कै उच्च बिन्दु हो । कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ७.६५, होटल १५.११, बिमा २३.७१ र विकास बैंक २२.५९ अंकले बढेका छन् । तर, सोमबार अन्य समूह १.१७, वित्त २.८२ र जलविद्युत् समूह ९.५८ अंकले घटेका छन् ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा १३१ कम्पनीको ४१४७ कारोबारबाट ९२ करोड ८२ लाख रुपैयाँबराबरको १५ लाख ६४ हजार ४२ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया