काठमाडौं । नेपाल रष्ट्र बैंकले भूकम्प र नाकाबन्दीपछि बैंक तथा वित्तीय संस्था र ऋणीलाई दिएको सहुलियत निरन्तरता नदिने भएको छ । अन्तराष्ट्रिय बैकिङ छविलाई कायम राख्न पनि यस्ता सहुलियत लामोसमय दिन नसकिने राष्ट्र बैंकका उच्च अधिकारीको भनाई छ ।
भूकम्प र नाकाबन्दीपछि राष्ट्र बैंकले बैंकका ऋणीलाई सावा र ऋणको किस्ता तिर्ने समयसिमा चैतसम्म दिएको थियो । यसैगरी भूकम्पमा क्षति भएका आयाजनाको कर्जालाई एकवर्ष थपेर पुर्तालिकीकरण गर्न सक्ने र बैंकहरुले पनि चैतसम्म आउने किस्तालाई पनि असल ऋणको रुपमा एक प्रतिशत मात्र जोखिम व्यवस्था गरे पुग्ने सहुलियत थियो । यो सहुलियत चैतबाट सकिएकाले बैंकहरुको चैतसम्मको वित्तिय विवरणमा खरावकर्जा केही बढ्ने अनुमान गरिएको छ ।
मंगलबार राष्ट्र बैंकको ६१ औ वर्षमा बोल्दै डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अव बैकिङ क्षेत्र विस्तारै सहजउन्मुख भएको भन्दै कर्जा उठाउनका लागि प्राथमिकता दिन आग्रह गरे । नाकावन्दी खुलेसँगै बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको अवस्था सहज हुदै गएकाले बैंकहरुले अब व्याजदरमा पनि पुर्नबिचार गर्नुपर्ने उनको भनाइ थियो । यसैगरी उनले लघुवित्त विकास बैंकको पनि पुँजी बढाउन लागिएको जानकारी दिए ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमै सबै बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने योजना अघि सारेको थियो । उक्त योजना अनुसार बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई पुँजी बढाउन निर्देशन जारी गरेपनि हालसम्म लघुवित्तका लागि कुनै निर्देशन दिएको छैन ।
राष्ट्र बैंकले ०७४ असारसम्ममा वाणिज्य बैंकलाई ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड, ४–१० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकलाई १ अर्ब २० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकलाई ५० करोड चुक्ता पुँजी पु¥याउन निर्देशन दिएको छ । त्यस्तै, राष्ट्रियस्तर र १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीले ८० करोड र १– ३ जिल्ला कार्यक्षेत्र भएकाले ४० करोड पुर्याउनुपर्ने व्यवस्था छ ।
हाल राष्ट्रियस्तरको लघुवित्तको चुक्तापुँजी १० करोड छ । यसैगरी एकदेखि तिनजिल्ले कार्यक्षेत्र भएका लघुवित्तको एक करोड, १० जिल्लासम्मका लागि २ करोड तोकिएको छ ।
गर्भनर डा चिरञ्जिवी नेपालले गत वर्ष प्राकृतिक प्रकोप, राजनीतिक संक्रमण र आपूर्ति अवरोधले आर्थिक र वित्तीय क्षेत्रको व्यवस्थापन जटिल भएपनि आर्थिक व्यवस्थापन नियन्त्रणमा नै रहेको बताए ।
कार्यक्रममा बोल्दै पहिलो गर्भनर हिमालय समशेर जवराले बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने योजनाको प्रशंसा गरे । “बैंकहरुको पुँजी बढाउन आवश्यक थियो, उपयुक्त समयमा राष्ट्र बैंकको निर्देशन आएको छ” उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले राष्ट्र बैंकले बलियो नियामकको पहिचाहन बनाएको बताए ।
बार्षिकउत्सवका अवसमा बैंकले पहिलो गर्भनर हिमालय समशेर जवरासहित सबै पूर्व गर्भनरहरुलाई सम्मान गरेको छ । २०१३ साल बैशाख १४ गते राष्ट्र बैंकको स्थापना भएको थियो ।
प्रतिक्रिया