काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्व पाँच करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४४ करोड रुपैयाँले बढी हो । भूकम्प र नाकाबन्दीका बाबजुत पनि नबिल बैंकले नाफा कमाउन सफल भएको छ ।
व्याज आम्दानीमा गरेको उल्लेख्य बृद्धि, राइट व्याक र विदेशी विनिमयको कारोबार गरेको नाफाले खुद नाफा बढेको बैंकद्धारा जारी अपरिष्कृत तेस्रो त्रैमासिक वित्तिय विवरणमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको सो अवधिमा बैंकले तीन अर्ब तीन करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । त्यस्तै डलरको भाउ बढ्दा र कारोबारमा पनि बढोत्तरी हुदा विदेशी विनिमयको कारोबारबाट ४२ करोड रुपैयाँ कमाएको छ । राइटव्याक गरेर बैंकले ११ करोड रुपैयाँ नाफामा जोडेको छ भने फि र कमिशनबाट पनि बैंकले ३३ करोड रुपैयाँ कमाएको देखिन्छ ।
चैत मसान्तसम्म बैंकमा एक अर्ब १३ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ भने ७० अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकमा ९१ अर्ब रुपैयाँ निक्षेप थियो भने कर्जा कर्जा ६६ अर्ब रुपैयाँ मात्रै थियो ।
प्रतिक्रिया