काठमाडौं । दक्षिण एसियाली मुलुकका बिमा नियमनकारी निकायको तेस्रो सम्मेलन तथा अन्तरराष्ट्रिय बिमा सम्मेलन ३० र ३१ गते काठमाडौंमा हुने भएको छ । गत वर्ष भूकम्पका कारण स्थगित भएको सम्मेलन एक वर्षपछि हुन लागेको हो ।
सम्मेलनमा दक्षिण एसियामा बिमा क्षेत्रका चुनौती तथा अवसरहरूमा छलफल हुनेछ । विश्वव्यापी जलवायु परिवर्तनबाट हुने जोखिम, सम्मेलनमा बिमाको पहुँच बढाउने, बिमाको भूमिका, भूकम्पका असर तथा अपनाउनुपर्ने उपायसम्बन्धी छलफल गरिने सम्मेलनका संयोजक भोजराज शर्माले बताए । बिमा विज्ञको रूपमा काम गर्दै आएका शर्माले बिमा व्यवसायलाई ग्रामीणस्तरमा पु¥याउने विषयमा छलफल हुने जानकारी दिए ।
कार्यक्रममा कृषि बिमाको विषयलाई पनि प्राथमिकता दिइने जनाइएको छ । कार्यक्रमको दोस्रो दिन बिमकका क्षमता तथा बिमा दाबीको सरलीकरण, बिमकलाई टाट पल्टिनबाट जोगाई उपभोक्ताको हकहित र सुरक्षाको विषयमा विश्वव्यापी चासोका बारेमा छलफल हुने बताइएको छ । जोखिममा आधारित पुँजी तथा खारेजी मार्जिन, स्वास्थ्य बिमालगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसअघि पाकिस्तानको कराँचीमा भएको अन्तरराष्ट्रिय बिमा सम्मेलनले ‘स्थानीयस्तरदेखि विश्वाव्यापी रूपमा बिमा’ भन्ने अवधारणा तय गरेको थियो । तेस्रो सम्मेलनले ‘क्षेत्रीय सहयोग तथा सहकार्यमार्फत बिमाको विस्तार’ भन्ने अवधारणमा केन्द्रित भई काम गर्नेछ ।
प्रतिक्रिया