काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्ष्मण रिसाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले ११ महिनापछि रिसाललाई सोमबार प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
एनआइसी एसियामा शशिन जोशीले बैंक छाडेपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । शशिनले छाडेपछि रिसाललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो ।
बैंकिङ क्षेत्रमा २६ बर्षको अनुभव भएका रिसालसँग बिमा क्षेत्रमा समेत काम गरेको अनुभव रहेको बैंकद्धारा जारी वित्रप्तिमा छ ।
लामो समयसम्म एनआइसी बैंकमा काम गरेका उनी प्रमुख सञ्चालक अधिकृत भएपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर गएका थिए । त्यहाँ एक बर्षजति काम गरेपछि उनी तत्कालिन बैंक अफ एसिया नेपाल (अहिले मर्ज भएर एनआइसी एसिया) महाप्रबन्धक भए ।
रिसालले सन् १९९० मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट सहायक स्तरमा जागिर सुरु गरेका थिए । ग्रिन्डलेज बैंक स्ट्यान्डर्ड चार्टर्ड बनेपछि उनी त्यहाँ सन् २००४ सम्म बसे । त्यसपछि एनआइसी बैंकमा उनी छिरेका थिए ।
एनआइसी एसिया बैंकसँग सर्वसाधारणको ६४ अर्ब १४ करोड निक्षेप छ । बैंकले ५२ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । २०५५ सालमा स्थापना भएको बैंकका ६७ शाखा र ६९ एटिएम छन् ।
प्रतिक्रिया