वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदी धितो राखेर ऋण लिन आकर्षित हुदै सर्वसाधारण, बैंकहरुको ३१ अर्व

अर्थटुडे
२०७१ असार १२, बिहीबार

काठमाडौं । सुखमा गहना र दुखमा खजानको रुपमा लिइने सुन धितो राखेर ऋण लिने प्रचलन नेपाली समाजमा पुरानै हो । सुनचाँदी व्यापारीसँग चर्को व्याजदरमा ऋण काढ्नेहरुलाई सर्वसाधारण नेपालीहरु विस्तारै बैंक तथा वित्तीय संस्थातिर आकर्षित हुन थालेका छन् । सुन व्यापारीले ३६ प्रतिशत व्याज लिने गरेकोमा बैंकहरुले १०—१२ प्रतिशत व्याजदरमा लगानी गर्न थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाका लागि सुनचाँदी धितो कर्जा लगानी आकर्षक क्षेत्र बन्दै गएको छ । सुनलाई नगद र सुरक्षित लगानी समेत मानिने भएकाले पनि यसमा लगानी गर्दा जोखिम कम भएकाले बैंकहरुले प्राथमिकता दिएका हुन् ।
सर्वसाधारणले बचतका रुपमा सुन किन्ने र आफुलाई अप्ठेरो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन बढ्दै गएकाले बैंकहरुको यस क्षेत्रमा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितो राखेर ३१ अर्व ११ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले धेरै हो । अघिल्लो आवको २८ अर्व ३१ करोड रुपैयाँ लगानी गरेका थिए ।

ऋण लिने प्रक्रिया सरल भएको र छिटो हुनुका साथै व्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबिच लोकप्रिय भएको हो । ग्राहकले सुन लिएर आएपछि बैंकहरुले बजारमुल्यमा आधारमा मूल्यांकन गरी ग्राहक हेरेर ५०–७० प्रतिशत कर्जा तुरुन्तै दिने गरेका छन् ।

पहिला आफुले सुन किनेको पसलबाट यस्तो कारोबार गर्ने सर्वसाधारणहरु विस्तारै बैंक तथा वित्तीय संस्थामा आउन थालेको बैकरहरु बताउछन् ।
“पैसा हुदा सुन किन्ने र पैसा आवश्यक पर्दा बेच्ने नेपालीहरुको पुरानो चलन हो” नेपाल वित्त कम्पनी संघका उपाध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले भने, “अहिले अप्ठेरो पर्दा छोटो अवधिका लागि सुन धितो राखेर बैंकबाट ऋण लिने लिने प्रचलन बढ्दै गएको छ ।”

घरजग्गामालगायत अन्य सम्पती धितोमा ऋण लिन मूल्याङ्कनदेखि अन्य लामो प्रक्रिया पुरा गर्नुपर्ने भएपनि सुनचाँदी धितोमा कर्जा छिटो पाइने भएकाले ग्राहक समेत यसतर्फ आकर्षित भएक हुन् । विगतमा सुनचाँदी व्यवसायीले नै सुन धितो राखेर ग्राहकलाई कर्जा दिने गरेको भएपनि पछिल्लो समयमा बैंकहरु समेत यसप्रति आकर्षित भएका छन् । व्यवसायीको भन्दा बैंक तथा वित्तीय संस्थाको व्याजदर समेत कम हुने गरेको छ ।

राष्ट्र बैंकको स्विकृती नलिइ कुनै पनि संस्था निक्षेप संकलन तथा कर्जा लगानी गर्न नपाईने व्यवस्था भएपनि सुनचाँदी व्यवसायीहरुले गैरकानुनी रुपमा सुनचाँदी धितोमा कर्जा लगानी गर्दै आएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा तेजमिन ज्वेलर्स धितो राखेर कर्जा दिने बैंकिङ प्रचलन सुन व्यवसायीबाट सुरु भएको दावी गर्छन् । “आफुले सुन बिक्री गरेको ग्राहकलाई अप्ठेरो पर्दा त्यही सुन राखेर सापट दिनु सामान्य हो” उनले भने, “बैंकहरुले यो कर्जा प्रक्रिया सहज बनाउने बित्तीकै हामीहरुको लगानी कम हुदै गएको छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ