काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा ग्रामीण विकास बैकहरुलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मर्जर पछि नेपाल ग्रामीण विकास बैंक रहने गरी स्वीकृति दिएको हो ।
पाँचवटै विकास बैंकहरुले गत जेठ ११ गते अन्तिम स्वीकृति पाउँ भनी राष्ट्र बैंकमा निवेदन दिएका थिए । सरकारले पाँचवटै विकास क्षेत्रमा एक एक वटा विकास बैंक सञ्चालन गर्दा भार परेको भन्दै तत्कालिन अर्थमन्त्री वर्षमान पुनको कार्यकालमा मर्जर गर्ने योजना बनाएको थियो ।
मर्जर पछि पनि बैंकको सञ्चित नोक्सानी १९ करोड हुने र उक्त नोक्सानी पनि सरकारले नै व्योहोनु पर्नेछ । हाल ६५ वटा जिल्लामा सेवा दिइरहेको ग्रामीण विकास बैंकको मर्जरपछि सेवा ७१ जिल्लामा पुर्याइने सरकारी लक्ष्य रहेको छ ।
पाँचवटै संस्थाको सम्पत्ति तथा दायित्व मुल्यांकन (डिडिए) अनुसार सवैभन्दा बढी ग्रामीण विकास बैंकको प्रति सेयर मुल्य १ सय ४० र सवैभन्दा कम पूर्वाञ्चल ग्रामीण विकास बैंक र सुदुरपञ्चिमाञ्चल ग्रामीण विकास बैंकको प्रति सेयर मुल्य एक रुपैयाँ दुइ पैसा रहेको छ । त्यसैगरी मध्यमाञ्चल विकास बैंकको प्रतिसेयर १ रुपैयाँ १७ पैसा रहेको छ भने मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको प्रतिसेयर मुल्य ७७ रुपैयाँ रहेको छ ।
मर्जरपछि पाँचवटै बैंकको जोड्दा चुक्ता पुँजी ४० करोड ५० लाख हुन्छ भने सरकारको तर्फबाट आगामी बजेटमा २५ करोड दिने घोषणा भइसकेको छ । सरकार र बैंकको जोड्दा कुल चुक्ता पुँजी ६५ करोड ५० लाख हुने छ ।
प्रतिक्रिया