सहकारीको नयाँ नेतृत्व र मालाको बोझ माला लगाएर भाषण ठोक्न पाउदैमा फुरुङ नपर्नुहोस्, त्यो माला हजारौ सहकारी पिडितको आँशुले गासिएको छ । त्यसमा लाखौ सहकारीकर्मीको भावना, चाहाना र इच्छा उनिएको छ ।
-यादव हुमागाई
सहकारीहरुको केन्द्रीय छाता निकाय, अभिभावक राष्ट्रिय सहकारी संघको साधारणसभा साउन तेस्रो साता सम्पन्न भयो । नयाँ नेतृत्वको निर्वाचन सहितको सभाबाट एकाध व्यक्तिलाई छोडेर अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । जो सहकारी आन्दोलनमा परिचित र सहकारीका समस्यासँग चिरपरिचित छन् । यसअघि नेतृव गरेका नेता केशव प्रसाद बडालले पुनः ५ वर्षको लागि सहकारी अभियान हाक्ने जिम्मेवारी पाएका छन् । अघिल्लो पटक सहमतिमा नेतृत्व लिन सफल बडालले यसपटक त्यसका लाथि थुप्रै प्रयास गरेपनि सफल भने भएनन् । तर पनि तीनवटा ठूला राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीले भागवण्डा मिलाएर बनाएको मोर्चाले नै बहुमत सहित चुनाव जित्यो ।
चुनाव जितेसँगै सुरु भएको सहकारी नेताहरुको देश दौडाहा, सम्मान अनि माला मोह अहिलेसम्म पनि चलिनै रहेको छ । सहकारीमा पछिल्लो केही समययता आएको एकदमै गलत ट्रेन हो यो । प्रारम्भिक सहकारी संस्थादेखि जिल्ला, विषयगत र केन्द्रीय संघहरुले नवनिर्वाचित नेतृत्वलाई माला र खादाको सम्मान गर्न भ्याए । आप्mनो विषयगत काममा सिन्को पनि भाच्न नसकेको संघहरु नेताहरुलाई माला लगाउन भने तछाडमछाड गरेर प्रतिस्पर्धामा उत्रिए । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघको अध्यक्ष जितेपनि देशैभरी घुमेर माला लगाएका अध्यक्ष ऋषीराज घिमिरेले यहि गलत संस्कृतीकै विकास भएको भन्दै माला र खादा नलगाउन फेसबुकबाटै अनुरोध गरे ।
सहकारीमा यो सम्मान हेर्दा ठूलै उपलब्धी भएझै भान हुन्छ । तर, नेतृत्वले यसैका कारण खुशी हुनुपर्ने कारण भने छैन । खुशी भन्दा धेरै समस्या र चुनौतिको पहाड उचालिएको छ सहकारी आन्दोलन । त्यसैले माला, खादा र सम्मान पाउँदैमा फुरुक्क नपर्नुहोस््, तपाईहरुसामु थुप्रै चुनौति छन् । सहकारीको संख्या सँगसँगै सहकारी क्षेत्रमा एक पछि अर्को गर्दै समस्या पनि थपिदै गएका छन् । समस्या घट्नुको साटो दिनहुँ बढी नै रहेको छ । एकपछि अर्को गर्दै सहकारी समस्यामा पर्दा सिंगो सहकारी क्षेत्र नै बदनाम भएको छ । सहकारीमा समस्या आउनुअघि नै विश्लेषण गर्न नसक्नु र समस्या समाधानका लागि पहल गराउन पर्ने अभियान नेतृत्वबाट समस्यामा रहेका सहकारी हाम्रा सदस्य होइनन् भन्ने किसिमको गलत भनाई पनि सार्वजनिक हुने गरेको छ । सहकारी क्षेत्रबारे चौतर्फी चर्चा भइरहेका बेला आउने नेतृत्व सामु सहकारीलाई साच्चिकै अर्थतन्त्रको खम्बा हो भन्ने पुष्टि गराउने चुनौति छ । यसैगरी सहकारीका यावत समस्या समाधान गर्दै सहकारीको विग्रदो छवि सुधार्नका लागि यो नेतृत्वले निकै कसरत गर्नुपर्ने देखिन्छ ।
त्यसैले माला लगाएर भाषण ठोक्न पाउदैमा फुरुङ नपर्नुहोस्, त्यो माला हजारौ सहकारी पिडितको आँशुले गासिएको छ । त्यसमा लाखौ सहकारीकर्मीको भावना, चाहाना र इच्छा उनिएको छ । यसलाई मनन गर्नुहोस् अनि त्यसैबाट सुरु गर्नुहोस् नेपालका ३१ हजार सहकारीलाई एकढिक्का बनाउने, ४५ लाख सदस्यहरुलाई उद्यमशिल र सम्वृद्ध बनाउने तथा सहकारी मार्फत देशको अर्थतन्त्र बलियो बनाउने र राज्यको दरिलो खम्बा बनाउने अभियान । नयाँ नेतृत्वलाई शुभकामना ।
वर्तमान सहकारी मासिकबाट
प्रतिक्रिया