केन्द्रीय बैंक कुनै पनि देशको अर्थतन्त्रका लागि महत्वपूर्ण निकाय हो । वित्त क्षेत्र अर्थतन्त्रको मूल आधार हो । वित्तीय क्षेत्रको मस्तिष्क केन्द्रीय बैंक हो । कुनै पनि देशको अर्थतन्त्र त्यस देशको वित्तीय अवस्थाबाट थाहा हुन्छ । देशको वित्तीय स्थितिलाई सञ्चालन गर्ने र सरल र राम्रोसँग अगाडि बढाउँदै लैजाने निकाय केन्द्रीय बैंक हो । त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंकको भूमिका महत्वपूर्ण हुन्छ । केन्द्रीय बैंकले लिने नीतिले देशको अर्थतन्त्रमा पूरा प्रभाव पारेको हुन्छ ।
केन्द्रीय बैंकको प्रमुख भएका नाताले देशको अर्थतन्त्रलाई सहज रूपमा अगाडि बढाउनु मेरो पहिलो कर्तव्य हो । केन्द्रीय बैंकको गरिमा र यसको प्रभावलाई अझ राम्रोसँग स्थापित गर्दै यस संस्थाको उत्तरोत्तर उन्नति गराउनु मेरो दोस्रो कर्तव्य हो । मेरो तेस्रो प्राथमिकतामा यस संस्थामा कार्यरत कर्मचारीलाई सबल र सक्षम बनाउनु हो ।
राष्ट्रिय स्वार्थ सबैभन्दा अगाडि हुन्छ । राष्ट्रिय स्वार्थमा अर्थतन्त्रमा महत्वपूर्ण पाटो हो । त्यो पाटोलाई अगाडि बढाउन सबैभन्दा पहिला वित्तीय स्थायित्व महत्वपूर्ण हुन्छ । त्यसैले अहिलेको परिस्थितिमा वित्तीय स्थायित्वलाई प्राथमिकतामा राख्नैपर्छ । यसका लागि निजीक्षेत्रसँगको सहकार्यलाई अझै राम्रोसँग बढाउँदै लैजाउनुपर्ने आवश्यकता देखेको छु । निजीक्षेत्रसँग समन्वय गर्दै निजीक्षेत्रका बैंक तथा वित्तीय संस्थाप्रतिको विश्वास जगाउनैपर्छ । यसो भयो भने निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो लगानी गर्न सक्छ । अहिले पनि अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रको छ । त्यसैले निजी क्षेत्रसँगको सहकार्यलाई मैले प्राथमिकतामा राखेको छु ।
अहिलेको अवस्थामा सुशासन महत्वपूर्ण छ । हरेक क्षेत्रमा सुशासन आवश्यक छ । अहिले वित्तीय अपराध प्रशस्त रूपमा बढेको छ । वित्तीय अपराध हुन नदिन तथा बैंक तथा वित्तीय क्षेत्रप्रति जनविश्वास बढाउन आवश्यक छ । यसका लागि वित्तीय क्षेत्रमा सुशासनको आवश्यकता छ । त्यसैले मैले सुशासनलाई महत्वपूर्ण प्राथमिकतामा राखेको छु । यो संस्थाले कुनै पनि हालतमा सुशासन छोड्ने छैन । सुशासनले जनविश्वास बढ्छ र यसले बजारमा लगानी ल्याउँछ ।
अहिलेको स्थितिमा नेपालमा ४० प्रतिशत जनता मात्रै वित्तीय पहुँचमा छन् । ६० प्रतिशत जनता अझै पनि यसबाट वञ्चित छन् । अत्यन्तै विपन्न जनता पनि वित्तीय क्षेत्रसँग आबद्ध हुन सकून् भन्ने उद्देश्यले म काम गर्नेछु, जसले गर्दा देशमा भएको समग्र बचत परिचालन हुन सकोस्, अनौपचारिक क्षेत्र साघुँरिँदै जाओस् र औपचारिक क्षेत्र ठूलो हुँदै जाओस् । यसो भए देशको अर्थतन्त्र कुन रूपमा अगाडि बढेको छ, हामी ठ्याक्कै ठम्याउन सक्छौं । त्यस्तै, अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सन्धि अभिसन्धिलगायत सम्झौतामा हाम्रो प्रतिबद्धता छ । तिनलाई अझ बलियो रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने अवस्था छ । भोलिको दिनमा वित्तीय क्षेत्रलाई अझ पारदर्शी बनाएर नेपाल सुरक्षित वित्तीय क्षेत्रको वित्तीय गन्तव्य हो भनेर देखाउनैपर्छ, जसले गर्दा लगानीकर्ता यहाँ आउन सकून् र आन्तरिक लगानी बढ्न सकोस् । त्यसैले अन्तरराष्ट्रिय प्रतिबद्धता जाहेर गरेका विषयलाई सशक्त बनाउने र निरन्तरता दिने सोचेको छु ।
सरकारसँग केन्द्रीय बैंकको सम्बन्ध सुमधुर हुनैपर्छ । मौद्रिक नीति निर्धारण गर्ने निकाय यही हो । मौद्रिक नीति प्राविधिक विषय हो । यसले सरकारले ल्याएको वित्तीय नीतिलाई सहयोग गर्नैपर्छ । यसले गर्दा देशको अर्थतन्त्र सरल रूपमा अगाडि बढेर मुलुकको आर्थिक विकासमा टेवा पुग्छ । सरकारसँग समन्वय गर्दे विभिन्न नीतिनियम लागू गर्दै जाने मेरो सोच छ ।
मानव संसाधनलाई पनि म प्राथमिकता दिनेछु । म नियमकारी निकायमा काम गरिसकेको मान्छे हुँ र अहिले फेरि अर्को नियामक निकायमा आएको छु । यसको महत्व मलाई थाहा छ । त्यसैले यहाँको जनशक्तिलाई सबल र सक्षम बनाउन मेरो प्रयास हुनेछ । राष्ट्र बैंकको जनशक्तिलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नेछु । यहाँ कार्यरत सबैले आफ्नो वृत्तिविकासको अवसर पाउनुपर्छ । यसका लागि म काम गर्नेछु । यसो भएमा सबै कर्मचारीमा आफ्नो संस्थाप्रति अपनत्वको भावना बढ्दै जान्छ ।
निजीक्षेत्रसँग सहकार्य गर्न हाम्रो ढोका सधैं खुला छ । निजीक्षेत्रसँग सहकार्य गरेर नै अघि बढ्ने हो । तर, केन्द्रीय बैंक सुशासन चाहन्छ । सुशासन मेरो प्राथमिकतामा छ । निजीक्षेत्रलाई सबल र सहज रूपमा नियमन गर्ने तथा उनीहरूका समस्यामा सहजकर्ताको भूमिका रहनेछौं । सहजकर्ताका रूपमा हामी भोलिका दिनमा कोही नठगिऊन्, गलत बाटो कोही पनि नहिँडून् भन्नेमा सतर्क छौं । यसका लागि भोलिका दिनमा विभिन्न ऐन नियम आउन सक्छन्, जसले गर्दा निजीक्षेत्र ढुक्क भएर अगाडि बढ्न सकोस् । केन्द्रीय बैंकले बचतकर्ताको सुरक्षा पनि गर्नुपर्छ, लगानीकर्ताको विश्वास पनि बढाउनुपर्छ । यो मेरो प्राथमिकतामा रहन्छ । हामी कुनै असहज परिस्थिति आउन दिदैनौं, जसले गर्दा अर्थतन्त्रमा निजी क्षेत्रलाई अप्ठ्यारो परोस् । त्यसो हुँदा निजीक्षेत्रलाई सहज हुने नीति निर्माणमा ध्यान दिनेछु ।
नवनियुक्त गभर्नर डा. नेपालले पदवहाली पश्चात् आयोजित कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश ।
प्रतिक्रिया