कर्ण शाक्यको पार्क भिलेज रिसोर्टले फेवाताल मिचेको छानविन समितिको ठहर

1347

काठमाडौं । पर्यटन व्यवसायी कर्ण शाक्यले संचालन गरेको पार्क भिलेज वाटर फ्रन्ट रिसोटले फेवाताल अतिक्रमण गरेको छानविन समितिले ठहर गरेको छ ।

सर्वोच्चको आदेश अनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छाननिन समितिले गरेको अध्ययनमा रिसोर्टका अधिकांश संरचना फेवातालबाट ६५ मिटर भित्र निर्माण भएको उल्लेख छ ।

समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नक्सालाई आधार बनाएर अध्ययन गरेको थियो । २०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो । त्यो योजनामा फेवातालको ६५ मिटर भित्र कुनै पनि संरचना बनाउन रोक लगाइएको छ ।

रिसोर्टको पानी शुद्धीकरण गर्ने ट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगैंचा, मुल गेट र पालेघर लगायतका संरचना तालबाट ६५ मिटर भित्रै रहेका छन् । त्यसभित्र बनेका सबै संरचना भत्काउनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

छानविन समितिको प्रतिवेदन सर्वोच्च अदालतमा पेश भइसकेको छ । अब यो मुद्दामा साउन ३१ गतेबाट बहस हुने बताइएको छ ।