हवाई यात्रुको बिमा ५ गुणा बढ्यो, अब १.२४ करोडको बिमा हुने

1108

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बिमा रकम ५ गुणाले बढेको हो । प्रतिनिधि सभाको विहिबारको बैठकले मण्ट्रियल महासन्धिलाई पारित गरेसँगै बिमा रकम पनि बृद्धि भएको हो ।

महासन्धिअनुसार अब हवाई यात्रुको १ करोड २४ लाख ४१ हजारको बिमा हुनेछ । यसअघि २० लाख रुपैयाँको मात्रै बिमा हुँदै आएका थियो ।

महासन्धिका प्रावधानले अन्तरराष्ट्रिय उडानका क्रममा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बिमा रकम अब समान हुनेछ । हवाई उड्डयनका माध्यमबाट हुने परिवहनबाट सृजित जोखीमबाट यात्रुलाई सुरक्षित गर्न महासन्धिका प्रावधान महत्वपूर्ण छन् ।

हवाई यात्रुको बीमा रकम अन्तरराष्ट्रिय मापदण्डबराबर बनाउने उद्देश्यले सन् १९९९ देखि नै मण्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । तर, महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुको बिमा रकम बढ्न सकेको थिएन ।

नेपालमा हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’अनुसार नै बिमा रकम दिइने गरिएको थियो । सोअनुसार हवाई यात्रुको बीमा रकम मात्रै २० हजार डलर रहेको थियो ।

विश्वका १३२ देशले अभिसन्धि अनुमोदन गरिसकेका छन् । दक्षिण एशियामा भारत र श्रीलङ्काले सो अभिसन्धिलाई यसअघि नै अनुमोदन गरेका थिए । अनुमोदन गर्ने नेपाल तेस्रो राष्ट्र भएको छ ।