मानव पाइला नपरेको जुगल हिमाल आरोहणको नेतृत्व लिदै माया

1539

काठमाडौं । जुगल हिमाल पहिलो पटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टीम जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछन् । बुधबार जुगल गाउँपालिका र प्रदेश नम्बर तीनको संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइयो । यो आरोहण अवघि कम्तिमा २० देखि ३० दिन सम्म हुन सक्नेछ ।

जुगल हिमाल आरोहणको नेतृत्व गरिरहेकी माया गुरुङका अनुसार सो हिमाल अहिलेसम्म कसैले पनि आरोहण गरेका छैनन् । सगरमाथा आरोही गुरुङले जुगल हिमश्रृङखलामा अहिलेसम्म मानव पाइला नपुगेको भर्जिन क्षेत्र भएकोले सो कार्यक्रम हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, रुट पहिचान तथा निर्र्धारण लगायतका कार्यहरुमा पनि केन्द्रित हुने जानकारी दिइन् । उनका अनुसार सो टोलीमा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेका नाति, पर्वतारोहण विज्ञसहित सातजना समावेश हुनेछन् ।

जुगल हिमश्रृङखलामा २ दर्जन भन्दा बढी हिम चुचुराहरु रहेको प्रारम्भिक अध्ययनले देखाएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनले जुगल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशालमा धार्मिक दृष्टिले पवित्र स्थान भएको जानकारी दिए ।

सो स्थानमा बौद्ध धर्मका गुरु पद्यमसम्भाले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीको लिखतहरु यस क्षेत्रमा सुरक्षित राखिएको किव्वदंती भएको बताउँदै अध्यक्ष श्रेष्ठले नेपेमाशाल नजिकै रहेको ब्रहायणी नदी, हरियाली जंगल, जंगलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमश्रृखलाको सुन्दरतम दृष्यले जो कोहीलाई पनि मोहित बनाउने सक्ने दावी गरे ।

उनले जुगल गाउँपालिकाले पर्यटन विकासलाई महत्व दिएर अगाडी बढेको बताउँदै छोटो समयमा र थोरै खर्चमा ट्रेकिङ जान चाहनेहरुको लागि जुगल उत्कृष्ट गन्तव्य हुन सक्छ जानारी दिए । श्रेष्ठले भ्रमणबर्ष २०२० का लागि सुचिकृत गन्तव्यका रुपमा यस क्षेत्रलाई राख्नका लागि पनि सम्बद्ध निकाय समक्ष आग्रह गरेका छन् ।