हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु

1024

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा हेलिकोप्टर दुर्घटना हुदा सातजनाको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुशार दुर्घटनास्थलमा पाँचजनाको शरीर टुक्राटुक्रा अवस्थामा जलिरहेको छ । एयर डाइनेस्टीको दुर्घटनामा परेको हेलिकोप्टरबाट ५ जनाको शव निकालिएको छ । सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन ।

पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । कल साइन एएमआई(अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो ।
स्थानियहरुका अनुसार दुर्घटना स्थल नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको छ । हेलिकप्टर दुर्घटनामा परेसँगै वालुवाटारमा मन्त्री परिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

दिउँसो साढे १ बजे भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे । फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ’तारा’ले पनि मृतकमध्ये ५ जनाको शव फेला परेको पुष्टि गरे । उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ । उनले भने, ’सो क्षेत्र प्रसिद्ध तीर्थस्थल पाथिभराको नजिक रहेको छ ।’

’हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको छ’, भट्टराईले भने । ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेको छ ।