रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले राम्रो प्रतिफल दिन्छ

2551

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले साधारणसेयरका (आइपीओ )को लागि बैशाख ६ गतेदेखि आवेदन आव्हान गरेको छ, तपाई यी कम्पनीको पनि अध्यक्ष हुनुहुन्छ, अध्यक्षको हैसियतले भन्नुपर्दा यी आयोजनाहरुमा लगानीकर्ताको लगानी सुरक्षित हुन्छ भन्ने आधारहरु के के छन् ?

पहिले म यी दुई कम्पनीहरुको विगत कोट्याउन चाहन्छु । रसुवागढी, सान्जेन र मध्यभोटेकोसी जलविद्युत आयोजना भनेको चिलिमे हाइड्रोपावर अन्तर्गत पहिचान भएका प्रोजेक्टहरु हुन् । चिलिमेले जलविद्युत कम्पनीले रसुवागढी जलविद्युत कम्पनीले १११ मेगावाट रसुवागढी जलविद्युत आयोजना, सान्जेन जलविद्युत कम्पनीले ४ं८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको तल्लो सान्जेन जलविद्युत आयोजना विकास गर्ने सोचका साथ यी दुइवटा कम्पनी सुरु भएको हो ।त्यस्तैगरी १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको विकास गर्नका लागि मध्यभोटेकोसी जलविद्युत कम्पनीको स्थापना भएको हो । यी तीनवटै कम्पनीमा चिलिमे जलविद्युत कम्पनी र नेपाल विद्युत प्राधिकरणको संस्थापक सेयर रहने गरी यसको सेयर संरचना बनेको हो ।

रसुवागढी र सान्जेनको हकमा प्राधिकरणर र चिलिमेको साथसाथै रसुवाका स्थानीय निकाय गरी ५१ प्रतिशत संस्थापक सेयर रहेको छ । त्यस्तै सर्वसारण सेयर अन्तर्गतको ४९ प्रतिशत सेयरमा कर्मचारी सन्चयकोषका सन्चयकर्ता कर्मचारीहरुको लागि १९.५, ऋणदाता र संस्थापक संस्थाका कर्मचारीहरुलाई ४.५ प्रतिशत सेयर दिएका छौ । अहिले बाँकी रहेको दुईवटा समूहको हो १५ प्रतिशत सर्वसाधरणलाई र १० प्रतिशत स्थानीय बासिन्दाको हो । त्यसमध्येको १५ प्रतिशत अहिले साधारणसेयरका लागि आव्हान गरेका हौ ।

माधव प्रसाद कोइराला , अध्यक्ष -रसुवागढी, साञ्जेन जलविद्युत आयोजना तथा प्रमूख कार्यकारी निर्देशक -चिलिमे जलविद्युत आयोजना

यी आयोजनामा हामीले धेरै प्रकारका समस्याहरु झेल्यौ, भूकम्प, नाकाबन्दी, मनसुको समस्या आदी । तरपनि हामीले समयमा नै आयोजना सक्ने कुरालाई केन्द्रमा राखेर काम अगाडी बढाएका छौ । आगामी एक बर्षभित्रमा यी आयोजनाहरु सम्पन्न हुने अवस्थामा देखिएको छ । हामीले यी आयोजनाहरु पहिलेको मितिमा नै पुरा गर्न सकेनौ समय थप भयो तर समय थपिएपनि हाम्रो आइडीसि समेत गरेर करिव १६ करोड प्रतिमेगावाटको हिसावले यी आयोजनाहरु बन्दैछन् । यो नेपालको पायोनियर आयोजना भएको र यसमा लगानीगर्दा सर्वसाधरण लगानीकर्ताले राम्रो प्रतिफल पाउछन् । यस आयोजनामा कुनैपनि प्रकारको जोखिम हुदैन । यस आयोजनामा लगानी गर्ने मुख्य आधारहरु भनेको सरकारको अपनत्व हुनु, अन्य आयोजनाको तुलनामा लगानी कम हुनु,स्थानीय निकाय र स्थानीय बासिन्दाको पनि सेयर हुनु जसले गर्दा स्थानीय निकाय र स्थानिय बासिन्दाले अपनत्व बोध गर्छन् र काम प्रभावकारी रुपमा अगाडी बढ्छ । अर्को भनेको यी आयोजनाले राम्रो प्रतिफल दिने सुनिश्चितता हुनु । किनकी हामीलसँग नमुना आयोजनाको रुपमा रहेको चिलिमे जलविद्युत आयोजना नै यसको संस्थापक लगानीकर्ता भएको र यी आयोजनाहरु सोही मोडलमा आगाडी बढेकोले लामांसमा कुनैपनि प्रकारको कम्प्रमाइज हुदैन । लगानीकर्ताले यसमा लगानीगर्दा कुनै संकोच मान्नु पर्दैन ।

उर्जामन्त्री बर्षमान पुन पनि राखेर उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरियो, मन्त्रीले पनि एक हजारकित्ता सेयर किन्छु भन्नुभयो यसरी तामझामका साथ प्रचारप्रसार गर्नुपर्ने आवश्यकता थियो र ?

मन्त्रालयमा राखेर पत्रकार सम्मेलन हुनुको अर्थ यी दुवै आयोजनाहरु “जनताको जलविद्यूत कार्यक्रम” अन्तर्गत समावेस भएका आयोजनाहरु हुन् । किनकी यी आयोजनाहरुको मोडालिटी सरकारको सो कार्यक्रम अन्तर्गतको मोडालिटिसँग मेल खान्छ । २०६८ सालमा नै हामीले स्थानीय निकायलाई तीन प्रतिशत सेयर दिने भनेर नीति बनाएका थियौ सरकारको कार्यक्रम पनि सोही मोडालिटिमा रहेको छ । अहिलेको सरकारले “जनताको जलविद्युत कार्यक्रम अन्तर्गत जुन क्याटोगोरी राखेको छ त्यो क्याटोगोरी भित्र हाम्रो नीति पनि मेल खान्छ । अर्को कुरा अहिले ५१ प्रतिशत सेयर सरकारको स्वामित्व भएका संस्थाहरुको संस्थापक सेयर रहनुपर्छ भन्ने मोडालिटि छ, यस आयोजनामा विद्युत प्राधिकरण, चिलिमे र रसुवागढीका स्थानीय निकायको संस्थापक सेयर रहेको छ । त्यस्तैगरी यी आयोजनामा सरकारको निरन्तर सहयोग पनि चाहिने हुदा जनताको जलविद्युत कार्यक्रम अन्तर्गत यी दुई आयोजनाहरुलाई पनि पारिएको हो । फगत प्रचारप्रसारका लागि मात्र भने होइन ।
अहिले सरकारले जलविद्युत क्षेत्रको जुन मोडालिटि बनाएको छ सो मोडालिटि चिलिमे त्यो चिलिमे जलविद्युत कम्पनी ले स्थापित गरेको मोडालिटि हो । यो हाम्रो लागि सौभाग्यको कुरा हो । यस्तो आयोजनाहरुलाई चाडो सक्नुपर्छ भन्ने मान्यताका साथ हामीले सो कार्यक्रम अन्तर्गत यी दुई आयोजनाहरुलाई पारेका हौ । अर्कोतर्फ जनतालाई सेयरबारे जानकारी गराउन र सकारात्मक सुचना जनतामा प्रबाह गर्नका लागि मात्र पत्रकार सम्मेलन उर्जा मन्त्रालयमा गरीएको हो ।
यी दुवै आयोजनाहरुमा पुँजीपनि संकलन भइसकेको छ, निर्माण कार्यपनि अन्तिम चरणमा नै रहेको अवस्था छ तर पनि यी आयोजनाहरुलाई जनताको जलविद्युत कार्यक्रम अन्तर्गत किन राखिएको हो ?

यस कार्यक्रमलाई ठूलो दायरामा हेर्नुपर्छ । यी आयोजनाहरुले अबलम्बन गरेको नीति नै “जनताको जलविद्युत कार्यक्रम” अन्तर्गत मिल्दाजुल्दा हुन । हामीले ठाउँ नपाएको अवस्था थियो, सरकारले नै सो कार्यक्रम अन्तर्गत यी आयोजनालाई राखेको छ । चिलिमे पनि सोही मोडालिटिबाट जन्म भएको हो । यी दुवै आयोजनाको नीतिहरु सरकारको जलविद्युत कार्यक्रमसँग मेल खाने भएकोले नै यसलाई सो कार्यक्रम अन्तर्गत राखिएको हो । यी आयोजनामार्फत जनतालाई जलविद्युतबारे केही शिक्षा होस् यसबाट जनताले जलविद्युत आयोजनामा लगानीगर्दा हुने फाइदाहरुको बारेमा जानकारी पाउन् भन्ने उदेश्यले र यी आयोजनामा सरकारको अपनत्वको पनि आवश्यकता भएकोले गर्दा यो आयोजना सो कार्यक्रम अन्तर्गत पारिएको हो । चिलिमे, रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको मोडालिटिमा अन्य आयोजनाहरु पनि आगाडी बढ्छन् भन्ने सन्देश दिनका लागि पनि यी आयोजनाहरु सो कार्यक्रम अन्तर्गत राखिएको हो । केही समयअघि “नेपालको पानी जनताको लगानी” भन्ने कार्यक्रममा चिलिमेलाई मोडल आयोजनाको रुपमा छानिएको थियो । चिलिमेलाई पाँचवटा प्रोजेक्टको जिम्मा पनि दिइएको छ । चिलिमे मोडलमा बनेका आयोजनाहरु आकर्षक आयोजनाको रुपमा अगाडी बढ्छन् भन्ने सन्देश जनतामा पुर्याउनु पनि सो कार्यक्रमको मुख्य लक्ष्य हो । जनताको लगानीको सुनिश्चितता यी आयोजनाहरुले गर्छन् भन्ने सन्देश दिनुपनि सो कार्यक्रममा पारिनुको मुख्य लक्ष्य हो ।

रसुवागढी र सान्जेन जलविद्युत आयोजना उत्पादन भएपछि राष्ट्रिय स्तरमा कस्तो असर पर्छ ?

रसुवागढीको १११ मेगावाट, सान्जेन जलविद्युत आयोजनाको २ वटै जोड्दा ५७.३ मेगावाट गरी दुवै जोड्दा १६८.३ मेगावाट हुनेछ । यसले अहिलेको विद्युतको मागलाई केही हदसम्म परिपुर्तिका लागि सहयोग गर्छ । केही बर्षअघिसम्म बर्षा सिजनमा समेत लोडसेडिङ गर्नुपर्ने अवस्था थियो अहिले आएर सबै सामाधान भएको छ । नेपाल विद्युत प्राधिकरणमा प्रमूख कुलमान घिसिङको राम्रो व्यवस्थापनका कारण लोडसेडिङ अन्त्य भएको छ । अझैपनि हामीले भारतबाट विजुली आयात गरिरहेका छौ । अब एकसय ६८.३ मेगावाट र तामाकोसी आयोजनाको विद्युत थपिदा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउनको लागि थप इट्टा प्रदान गर्दछ । हामी जलविद्युतमा आत्मनिर्भर छौ भनेर प्रमाणित गर्नका लागि यी आयोजनाहरुको पनि सहयोग हुन्छ ।

रसुवागढी र सान्जेन जलविद्युत आयोजनामा लगानीकर्ताले लगानीगर्दा फाइदा नै हुन्छ भन्ने आधारहरु के के छन् ?

पहिलो आधार भनेको आयोजनाको लागत कति हो ? यो लगानीकर्ताहरुले हेर्नुपर्छ । हो विविध कारणले गर्दा तोकिएको समयमा नै आयोजना पुरा गर्न सकेको अवस्था होइन तर पनि यसमा लाग्ने लागत हेर्नु पर्दछ । अहिले कुनैपनि आयोजनाहरुमा प्रति मेगावाट २५ करोडसम्मको लागत लाग्छ तर हामी अहिले पनि प्रतिमेगावाट १६ करोडमा आयोजना सक्दैछौ । सस्तोमा आयोजन बनेपछि त्यसले प्रतिफल अवश्य दिन्छ । अर्को कुरा सरकारी लगानी पनि यस आयोजनामा छ, सरकारले अपनत्व ग्रहण गरेको आयोजना हुनुका साथै यस आयोजनामा लगानी गर्ने चिलिमेको विगतको लाभांसको दरलाई पनि हेर्न सकिन्छ । किनकी यो आयोजना पनि चिलिमेको नै मोडलमा हो, भने चिलिमेको व्यवस्थापन पनि यी आयोजनाहरुमा प्रत्यक्ष संलग्न रहेको छ ।

विद्युत प्राधिकरणले आफैले गरेको प्रोजेक्ट भन्दा सहायक कम्पनीमार्फत अगाडी बढाइएको प्रोजेक्टहरुको काम भने राम्रो देखिएको छ, प्राधिकरण आफैले गर्ने काम र सहायक कम्पनीहरु मार्फत गरिने आयोजनाको कामको रफ्तारमा किन फरक भएको हो ?

प्राधिकरणका केही आयोजनाहरु ढिला भएका हुन् । तर यही कारणले मात्र ढिला भएको हो भन्न सकिदैन । त्यसमा विविध पक्षहरु छन्, जियोलोजिकल, कन्टयक्टर, समयमा निर्णय नहुदा आदी कुराहरु छन् । अरु आयोजनाहरुमा पनि समस्या नआउने भनेको होइन जस्तै चिलिमे जलविद्युत आयोजनाले पनि पहिलेको ठेकेदारले काम गर्न नसकेपछि उसलाई रद्ध गरेर रिटेन्डर आव्हान गरेर २०६० भाद्रमा उत्पादन थालेको हो । मतलव समस्याहरुसँग जुधेर पनि समयमा नै सो आयोजनालाई अगाडी बढाएको थियो व्यवस्थापन पक्षले । आयोजना निर्माणका समयमा धेरै समस्याहरु आउछन् तर फेस गर्नुपर्छ । जस्तो रसुवागढीकै कुरा गर्दा पनि हामीले लेटर टु टर्मिनेट दिएपछि मात्र उनीहरु आएर सहमति गरेर काम सुरु गरेको हो । समस्या आउछन् त्यसको समाधान पनि खोज्नुपर्छ । सही समयमा तत्काल सही निर्णय नै सबैभन्दा महत्वपुर्ण कुरा हो । यी आयोजनाहरु देशको हो र यसले समग्र देशवासीको हित गर्छ भनेर आफ्नो नीहित स्वार्थलाई त्यागेर काम गर्ने हो भने निश्चय नै समयमा नै आयोजनाहरु सकिन्छन् ।

सरकारले चिलिमे जलविद्युत आयोजनालाई मोडल आयोजनाको रुपमा लिएको छ, यसलाई नै मोडलको रुपमा लिइनुको कारण के हो ?
विद्युत प्राधिरण आफैले आयोजनाहरुको काम अगाडी बढाइरहेको थियो तर लगानी गर्ने वल्ड बैंकले १० मेगावाट भन्दा माथिको र १० लाख डलर भन्दा माथिको आयोजनाको लागि वल्र्ड बैंकबाट स्वीकृति लिनुपर्ने प्रावधान राख्यो । तित्यसपछि हामीले यी समस्याहरु राखेर चिलिमेलाई पनि सँगसँगै अगाडी लैजान्छौ भन्ने अवस्था थिएन । त्यस्तो समस्याबाट कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा विद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर राखेर कम्पनी खोलेर आगाडी बढ्ने बाटो फेला पर्यो । त्यसैले चिलिमे जलविद्युत आयोजना जन्मियो । यही आयोजनाले नै पहिलो पटक स्थानीय बासिन्दाको लागि सेयर जारी गरेको थियो । अहिले यो आयोजनाका कारण स्थानीय लगानीकर्ताहरुले पनि राम्रो प्रतिफल पाएका छन् भने उनीहरुको जीवनस्तरमा पनि परिवर्तन आएको छ । त्यस्तै चिलिमे विभिन्न समस्याहरु झेल्दै समयमा नै आयोजना सकेर नेपालको पायोनिर कम्पनीको रुपमा दर्ज भएको छ । यी सबैकुराले गर्दा चिलिमे आयोजनालाई मोडलको रुपमा लिइएको हो ।

चिलिमे जलविद्युत आयोजनाको अहिलेको अवस्था के छ ? आगामी दिनमा कसरी अगाडी बढ्ने सोच बनाएको छ ?

चिलिमे जलविद्युत आयोजनाको पहिलो दायित्व भनेको चिलिमे जलविद्युत आयोजनाको लगानी रहेको निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरु जतिसक्दो चाडो सम्पन्न गर्नको लागि कसरी काम गर्ने भन्ने हो । त्यसको साथ—साथै चिलिमे अन्तर्गत पाँचवटा आयोजनाहरु अगाडी बढाउनका लागि अध्ययन भइरहेको छ । बुढी गन्डकी प्रोप, बुढीगन्डकी प्रोप १,२ बुढीगन्डकी प्रोप प्रमखोला यी तीनवटा आयोजना गरी झण्डै ३०० मेगावाटको छ । त्यस्तै स्यारखोला जलविद्युत आयोजना ६० मेगावाटको र सेतीनदी ३ भनेर ६५ मेगावाटको गरी करिव ४०० मेगावाटका आयोजनाहरु अहिले अध्ययनकै क्रममा रहेका छन् । यी आयोजनाहरुको जतिसक्दो चाडो अध्ययन गरेर चिलिमे जलविद्युत आयोजनाको भिजन र मिसन बमोजिम अगाडी बढाउनका लागि प्रयास गरिरहेका छौ र यो चाडै नै अगाडी बढ्छ ।
आगामी दिनमा चिलिमे जलविद्युत आयोजनाले आफ्नो लक्ष्य बमोजिम कहिकतै नअलमलिकन अगाडी बढेर देशकोलागि आफ्नोतर्फबाट निरन्तर सक्दो साथ र सहयोगको साथै जलविद्युत क्षेत्रमा प्रभावकारी भुमिका निर्वाह गर्दछ ।