नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात

1552

काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डको प्राङ्गणमा नेपाल पर्यटन बोर्ड र समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त सहकार्यमा जाट–नेपालले अक्षय तृतीया पर्वलाई पर्यटनसँग जोड्ने प्रवद्र्धनात्मक कार्यको थालनी गरेको हो ।

‘पर्वको परम्परा राष्ट्रको पर्यटन’ मुल नाराका साथ आयोजित कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाहले कृषि पर्यटन र प्रबिधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए । संस्कृतिलाई पर्यटनसँग जोड्दै राष्ट्रिय एकतामार्फत देशलाई समृद्धिमा लैजान यस्ता पर्वहरुको विशेष महत्व हुनेमा पूर्वमन्त्री शाहले जोड दिए । यस्तै नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य दीपक महतले देश कति सम्पन्न छ भन्ने कुरा त्यहाँको संस्कृति कति सम्पन्न छ भन्नेमा निर्भर रहने बताए । नेपालको संस्कृतिको प्रवद्र्धनमा पर्यटन बोर्डले सहकार्यका साथ कार्य गर्ने उनको भनाई थियो ।

कार्यक्रममा समृद्धिका लागि पर्यटन अभियानका कृष्णकुमार अर्यालले सिमित काम र गोरा छाला भएकाले जे भन्यो त्यहि मात्र पर्यटन भन्ने मानसिकता बदल्दै मौलिक संस्कृतिको प्रबद्र्धनमार्फत देशको समृद्धिमा लाग्नुपर्ने बताए ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका निवर्तमान अध्यक्ष चन्द्र रिजालले संस्कृतिको धनी नेपालले पर्वहरुमार्फत समृद्धि हासिल गर्नसक्ने ठोकुवा गरे ।

जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले हिमालदेखि तराईलाई एकै सुत्रमा बाँध्ने अध्यक्ष तृतीयाबारे प्रकाश पार्दै यस्ता पर्वको उजागर गर्न पर्यटन पत्रकार संघले नयाँ नयाँ कार्यक्रम अगाडि सारेको बताए ।