ठमेल पर्यटन विकास परिषद्मा चूनावी माहोल, महासचिवका उम्मेदवार धमलाका यस्ता एजेण्डा

1792

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते हुन गइरहेको निर्वाचनमा युवा पर्यटन व्यवसायी सहदेव धमलाले आफू महासचिवको मुख्य दाबेदार रहेको बताएका छन् । काठमाडौं इको होटलका प्रबन्ध निर्देशक रहेका धमलाले केही नयाँ भिजन र एजेन्डाका साथ आफू महासचिवका लागि उमेद्वारी दिने तयारी गरेको जानकारी दिए ।

‘ठमेलमा विभिन्न समस्याहरु छन् । तर, समाधान हुन सकेन । आफ्नै आँखा अगाडि वर्षौंदेखि समस्या रहिरहँदा पनि समाधान नभएपछि मैले यो निर्णय गरेको हुँ’ उनले भने । ठमेल आसपासमा रहेका सम्पदा क्षेत्रहरुको संरक्षण र प्रबद्र्धन गर्ने, सरकारी निकाय, व्यवसायी, घरधनी र निजी क्षेत्रसँग नियमित अन्तरक्रिया गरि समस्याहरुको समाधान गर्ने, अनाधिकृत गतिविधिहरु रोक्ने, परिषद्प्रति सदस्य तथा व्यवसायीहरुलाई अपनत्वबोध गराउने तथा आपतकालिन समस्या समाधान गर्नका लागि उद्धार टोली गठन गरि काम गर्ने समेत उनले बताए । परिषदमा वार्षिक क्यालेन्डर बनाएर काम गर्ने उनले बताए ।

धमलाले यसअघि परिषद्को कार्यसमिति सदस्यमा रही विदेश विभागको नेतृत्व गरेका थिए । उनी अगेनो द हिस्टिया रेष्टुरेन्ट र गोल्डेन होराइजन एकेडेमीका सञ्चालक तथा आर्ट फर ग्लोबल पीसका महासचिवका साथै लाइन्स क्लब अफ काठमाडौं स्प्रिचुअलका कोषाध्यक्ष समेत रहेका छन् ।

परिषद्को २३ औं तथा २४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही जेठ २५ गते हुँदैछ । परिषद्मा ८ सय २ सदस्य रहेका छन् भने १७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । जसमा २ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।