संस्थालाई अप्ठ्यारो पर्दा तुरुन्त समन्वय गर्न महासंघ तयार छ

1265

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहकारी क्षेत्रले खेलेको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
देशभरका सहकारी संघसंस्था र सहकारीकर्मीहरु कोरोना विरुद्धको लडाइमा हातेमालो गरिरहनुभएको छ । सहकारी संघसंस्थाले स्थानिय, प्रदेश र केन्द्रीय सरकारका उपचार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । यसैगरी स्थानिय स्तरमा जनचेतनात्मक कामका साथै लकडाउनमा अप्ठेरोमा परेका सदस्य तथा सर्वसाधारणलाई राहत वितरण गर्न पनि सहकारी संघसंस्थाहरुले भूमिका खेल्दै आएका छन् ।

स्वास्थ्य सहकारी संस्थाहरुले आफुले संचालन गरेको अस्पतालबाट सेवा प्रदान गरिरहेका छन् । निजी अस्पतालहरुले सेवा नदिएको अवस्था सहकारी अस्पतालले सेवा दिएका छन् । यसैगरी तरकारीलगायतका कृषि उपजहरु स्थानिय स्तरमा बिक्री गर्न कृषि सहकारीहरुले काम गरिरहेका छन् । उपभोक्ता सहकारीहरुले संचालन गरेको खाद्य स्टोरबाट दैनिक उपभोग्य सामानहरु सुपथ मूल्यमा बिक्री भइरहेको छ ।

वित्तीय कारोबार गर्ने सहकारीहरुले आंशिक समय कार्यालय खोलेर भएपनि सेवा दिइरहेका छन् । फोहोर संकलन गर्ने सहकारीहरुले समेत काम रोकेका छैनन् । सहकारीको काम प्रचारप्रसार नहुँदा ओझेलमा परेको मात्र हो ।

ओमदेवी मल्ल, वरिष्ठ उपाध्यक्ष-राष्ट्रिय सहकारी महासंघ

सहकारी क्षेत्रको अभिभावक राष्ट्रिय सहकारी महासंघले कस्तो भूमिका खेलिरहेको छ त ?
राष्ट्रिय सहकारी महासंघको गतिविधि सिधै जनताको दैनिकीसँग जोडिएको छैन । त्यसैले महासंघले डकडाउनलाई पालना गर्दै सहकारी संघसंस्थालाई सहजिकरण गर्ने काम पनि जारी राखेको छ । महासंघमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई विदा दिएका छौं । उच्च तहका कर्मचारीहरु भने घरबाटै काम गरिरहनुभएको अवस्था छ ।

महासंघका संचालकहरुबिच पनि आवश्यक्तअनुसार प्रविधिमार्फत कोअर्डिनेशन भइरहेको छ । विषेश गरी सरकारले लकडाउन घोषणा गरेपनि सहकारी संस्था कसरी संचालन गर्ने भन्ने विषयमा अन्योल भयो । यसैगरी सहकारी विभागले जारी गरेको परिपत्रमा पनि केहि द्धिविधा हुँदा महासंघले सहकारी संघसंस्थालाई सहजिकरण गरेको छ । यसैगरी प्रारम्भिक संस्थाहरुलाई परेको समस्या र उनीहरुले गरेका काम जानकारी गराउन महासंघले अनुरोध पनि गरिरहेको छ । महासंघले सहकारी क्षेत्रको गतिविधिलाई सहजिकरण गरिरहेको छ ।
महासंघमा धेरै केन्द्रीय संघ, जिल्ला संघका अध्यक्षहरु संचालक त्यहाँ हुनुहुन्छ । उहाँहरुमार्फत सबै सहकारी क्षेत्रमा सहजिकरण भइरहेको छ । सहकारी संस्थाहरुलाई अहिलेको अवस्थामा गाइड गर्ने र उनीहरुलाई कुनै अप्ठ्यारो परेको अवस्थामा तुरुन्त समन्वय गर्न महासंघ तयार छ ।

दुध बिक्री नभएर बाटोमै पोख्नुपरेको, तरकारी नबिकेर बारीमै कुहिएको समाचार आएका छन् । सहकारी उत्पादन बिक्रीका लागि महासंघले के गर्दैछ त ?
नेपालमा सहकारीहरु दुध उत्पादन तथा प्रशोधनमा संलग्न छन् । दुध प्रशोधन गरी बजारमा बिक्री गर्ने कलकारखाना सहकारी क्षेत्रसँगै न्यून मात्र छ । केहि सहकारी संघहरुले मात्र दुध प्रशोधन तथा बिक्री गर्दै आइरहेका छन् । त्यसैले सहकारीहरुले उत्पादन भएका दुध संकलन गरी डिडिसिका साथै निजी डेरी उद्योगलाई बिक्री गर्दै आएका थिए । अहिले ती उद्योगहरुले दुग्धजन्य पदार्थ उत्पादन नहुने भएकाले हामी दुध लिन सक्दैनौं, संकलन नगर्नुहोस् भनेपछि यो अवस्था आएको हो ।
दुग्ध सहकारीबाट यो जानकारी आएपछि महासंघले सहकारीका साथै कृषि मन्त्रीलाई भेटेर समस्या राखेका छौं । लकडाउमा उद्योगहरु बन्द भएकाले पनि समस्या भएको हो । किसानको समस्यामा गम्भिर बन्न सरकारलाई दवाव दिएका छौं । यो समस्याको समाधान हामी आफैले मात्र गर्न सक्दैनौं । सरकारी स्तरबाट समाधान गर्नुपर्ने भएकाले हामीले लविङ गरिरहेका छौं ।
दुधबाहेक तरकारीलगायत दैनिक उपभोग्य सामानहरुको बजार व्यवस्थापनका लागि भने सहकारीहरुले काम गरिरहेका छन् । कृषि सहकारीहरुले साना किसानबाट तरकारी संकलन गरी समूदायमा लगेर बिक्री गर्ने काम भइरहेको छ ।
उपभोक्ता सहकारीहरुले आंशिक रुपमा भएपनि स्टोर चलाएर सर्वसाधारणलाई दैनिक उपभोग्य सामान सर्वसुलभ मूल्यमा उपलब्ध गराइरहेका छन् ।

कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित भएको हो । होटल, उद्योग, व्यापारलगायतका सबै व्यवसायमा समस्या भएकाले सहकारीमात्र नभइ सिंगो आर्थिक क्षेत्र नै प्रभावित हुन्छ । तर यसको असरले सहकारी संस्था डुब्ने अवस्था नै आउछ जस्तो मलाई लाग्दैन ।

कोरोना संक्रमणको त्रास सुरुभएसँगै सहकारीमा तरलताको समस्या बढेको थियो । लकडाउमा सेवा दिने विषयमा त सहकारी संस्था र विभागको विवाद नै भयो नि ?
विश्व अर्थतन्त्रमा नै समस्या आएपछि सहकारी क्षेत्रमा पनि समस्या नपर्ने कुुरा नै भएन । विषेश गरी काठमाडौंका सहकारी संस्थाहरुका तरलताको समस्या देखिएको हो । यहाँ ७७ जिल्लाका सर्वसाधारण भाडामा बस्ने भएकाले उनीहरु आफुसँग नगद नहुँदा असुरक्षित महशुुस गर्ने भएकाले यस्तो बेला तरलताको अभाव भएको हो । नेपालमा ठूला ठूला समस्याहरु पर्दा पनि तरलताको अभाव भएको थियो । राजदरवार हत्याकाण्ड, भूकम्प, नाकाबन्दी, जनआन्दोलनको बेला पनि पैसाको हाहाकार भयो । बरु यसपटक कोरोना त्रसित भएको बेला समस्या कम छ । अन्य बन्द वा र्कफुयुभन्दा लकडाउन फरक हो । यस अवधिमा २४ सै घण्टा मानिसको गतिविधि बन्द भएकाले सर्वसाधारणलाई विहान वेलुकी छाक टार्ने रकम भएपुग्छ । अन्य कामका लागि पैसा चाहिएको छैन । त्यसैले यो बेला पैसाको कुरा धेरै उठेको छैन । सदस्यहरुले पनि सहयोग नै गरेका छन् ।
विभागले लकडाउनका बेला संस्था संचालन गर्न भनेकाले केहि समस्या भएको हो । अहिले केन्द्रीय संघहरुले त सवारी पास पाएका छैनन् प्रारम्भिक संस्थाले् पाउने सम्भावना भएन । यो अवस्थामा कसरी संस्था संचालन गर्न सक्नु । बरु अति आवश्यक परेका सदस्यलाई कुनै न कुनै विधिबाट रकम दिनुपर्छ भनेका छौं । संस्थाहरुले पनि अत्यावश्यक परेका सदस्यहरुलाई सेवा दिन व्यक्ति तोकेर फोन नम्बर सहित सुचना सार्वजनिक गरेका छन् । सदस्यहरुलाई अप्ठ्यारोमा पारेका छैनन् । विभागको सूचनाले द्धिविधा सिर्जना गरेकाले महासंघले यसलाई प्रश्च पारिसकेको छ । अहिले कुनै समस्या छैन ।
कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित भएको हो । होटल, उद्योग, व्यापारलगायतका सबै व्यवसायमा समस्या भएकाले सहकारीमात्र नभइ सिंगो आर्थिक क्षेत्र नै प्रभावित हुन्छ । तर यसको असरले सहकारी संस्था डुब्ने अवस्था नै आउछ जस्तो मलाई लाग्दैन ।

राष्ट्र बैंकले बैंकहरुलाई ऋणको किस्ता र व्याज तिर्ने समय असारसम्म दिन भनेको छ । यसैगरी व्याज छुट विषय उठिरहेको छ । सहकारीका सदस्यलाई राहत दिने विषयमा तपाइहरुको योजना के छ ?
बैंकले गरेजस्तै सहकारीबाट ऋण लिएका सदस्यलाई पनि राहत दिनका लागि हामीले सहकारीमन्त्रीसँग छलफल गरेका छौं । यसबारेमा महासंघले संस्थाहरुलाई आवहान गछौं । कर्जाको व्याज मिनाहा गर्ने विषयमा बैैंकहरुका लागि अर्थ मन्त्रालय समन्वय गर्छ । निजी बैंकबाट सर्वसाधारणले कुनै सुविधा पाउदा सहकारीका सदस्यले पाउनुपर्छ भनेर हामीले पहल गरिरहेका छौं । सहकारी मन्त्रीबाट पनि समन्वय गर्ने प्रतिवद्धता आएको छ ।

तपाई अन्तर्राष्ट्रिय सहकारी महासंघको समेत संचालक हुनुहुन्छ । विश्व नै कोरोनाबाट प्रभावित भएका बेला सहकारीको भूमिका कस्तो पाउनुभएको छ ?
अहिले नै सहकारीको भूमिका कस्तो रह्यो भन्ने विश्लेषण गर्ने समय भइसकेको छैन । यसबाहेमा हामीले विश्लेषण पनि गरेका छैनौं । तर, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) का विभिन्न देशमा रहेका संचालकहरु निरन्तर सम्पर्कमा नै छौं । एक अर्का देशका सूचना आदानप्रदान भइरहेको छ । आइसीएको मार्चमा हुने बोर्ड मिटिङ पनि भिडियो कन्फेरेन्समार्फत हुदैछ । कोरोनाको महामारी सुरु भएपछि अध्यक्ष एरियल ग्वार्कोले सहकारीका लागि सन्देश पनि जारी गर्नुभएको छ । नेपालमा सहकारी क्षेत्रले कोरोना सेन्टर संचालन गरेको विषयको पनि प्रशंसा भएको छ ।
अहिलेको अवस्था भनेको पहिला आफु सुरक्षित हुने अनि अरुलाई सहयोग गर्ने हो । यो अवस्थामा विश्वभरका सहकारीहरुले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो क्षेत्रमा भूमिका खेलिरहेका छन् । सहकारी संघसंस्था र सहकारीकर्मीले देश र नागरिकको सर्पोटमा एकजुट हुनुपर्छ ।