लगानी कोष प्रबन्धकको काम गर्न आध्यन्त फण्ड म्यानेजमेन्टलाई अनुमति

573

काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्टले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । सेबोन– विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कम्पनीले नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धको अनुमति पाएको हो ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्ने जनाएको छ ।
आध्यन्तका संस्थापक मनोज पौडेलले निजी पुँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्ने बताए । आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पुँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो, जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीको गर्नेछ । कम्पनीले लगानीलाई पहुँचयोग्य बनाएर र संगठित रूपमा उद्यमीहरूलाई संलग्न गराएर, सँगै जोखिम वहन गर्ने र हरेक पाइलामा उनीहरूलाई सहयोग गरेर नेपाललाई दिगो विकासका लक्ष्यहरू प्राप्ति गरी मध्य–आय भएको देशमा स्तरोन्नति गर्नेतर्फ सहयात्री बन्ने योजना बताएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सनराइज बैंक र लक्ष्मी बैंक संस्थागत लगानीकर्ता रहेको कम्पनीमा विभिन्न क्षेत्रका विज्ञहरु रहेका छन् ।