शून्य फोहरको अवधारणा नेपालमा पनि लागू

432

काठमाडौं, २९ पुस । विश्वका ठूलासाना शहरहरुलाई शून्य फोहर –जिरो वेस्ट) को अवधारणाबाट फोहर र प्रदूषणरहित बनाउन भईरहेको विश्वव्यापी प्रयासमा नेपाल पनि सक्रिय रुपमा समावेश भएको छ ।

विभिन्न स्रोतबाट निस्केका फोहरहरुलाई पुनप्र्रयोग, पुनप्र्रशोधन वा पुनर्नमूनाको माध्यमबाट व्यवस्थापन गर्न सकिन्छ जसको परिणामस्वरुप फोहर बाँकी नरही शून्यमा पुग्दछ । विगतमा र कतिपय स्थानमा अहिले पनि फोहरलाई बाल्ने, फाल्ने वा गाड्ने चलन रहिआएकोमा त्यसबाट फोहरको समस्या समाधान नभई झन् विकराल रुप लिने भएकोले क्यालिफोर्नियास्थित ग्लोबल एलाइन्स फर इन्सिनेटर अल्टरनेटिभ (गाया) संस्थाको अग्रसरतामा हाल विश्वका ९० वटा मुलुकमा शून्य फोहरको अवधारणा लागु भएको छ । नेपाल पनि यो अभियानमा एक सक्रिय सहभागी रहेको छ ।

गायाको आग्रहमा सन् २०२३ को जनवरी महिनालाई गायासँग आवद्ध सबै मुलुकहरुमा शून्य फोहर महिना मनाइदैछ ।

यसै सिलसिलामा नेपाल सरकार, शहरी विकास मन्त्रालय तथा हेल्थ, इन्भ्यारोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउन्डेसन (हेकाफ–३६०)को सँयुक्त प्रयासमा जिरो वेस्ट ल्किनिकको आयोजना गरिएको छ ।

लाजिम्पाटस्थित हेकाफ–३६०को कार्यालय परिसरमा आयोजित सो ल्किनिकमा शून्य फोहर अवधारणाका विभिन्न पक्षबारे जनचेतना जागृत गराउने उद्देश्यले प्रयोगात्मक प्रदर्शनी आयोजना गरिएको छ ।

जारी जनवरी महिनासम्म प्रत्येक शुक्रबार आयोजना हुने उक्त निःशुल्क परामर्श प्रदर्शनीको शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले आज उद्घाटन गरे ।

सो अवसरमा आयोजित अनलाईन छलफलमा नेपाललगायत भारत,फिलिपिन्स र इन्डोनेसियाका गाया प्रतिनिधिहरुले भाग लिएका थिए ।

छलफलमा सचिव आचार्यले नेपालका नगरपालिकाहरुमा फोहरको उचित व्यवस्थापन गर्न विभिन्न पहल भईरहेको बताउँदै नेपाल सरकार शून्य फोहरको अवधारणालाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको र यसमा गायाको सहयोग अपेक्षित रहेको बताए ।

सोही मन्त्रालयका सहसचिव रवीन्द्र बोहोराले शून्य फोहरको अवधारण अत्यन्त महत्वपूर्ण रहेको बुझेर नै नेपालमा यसलाई महत्व दिइएको र उपत्यकाभित्रको गोकर्णेश्वर नगरपालिकामा शून्य फोहर अवधारणाअनुसार काम शुरु भईरहेको जानकारी दिए ।

भारतबाट गाया प्रतिनिधि शिबु केएनले विभिन्न एसियाली शहरहरुमा भईरहेका गायासम्बन्धी गतिविधिहरुबारे प्रस्तुति दिदै शून्य फोहरको अवधारणालाई नेपालमा कार्यान्वयन गर्न सरकारी तथा सम्बद्ध सबै पक्षबाट सक्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

आयोजक संस्था हेकाफ ३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले शून्य फोहरको अवधारणालाई सफल बनाई नेपालका शहरहरुलाई फोहर र प्रदूषणबाट पूर्णतया मुक्त राख्न आफ्नो संस्था नेपाल सरकार र सम्बन्धित निकायहरुसँग सहकार्य गर्न सदा तत्पर रहेको बताउँदै यस कार्यमा गायाबाट प्राविधिक तथा व्यावसायिक सहयोगको लागि अनुरोध गरे ।