‘बुक विल्डिङ प्रणाली लागु गर्न क्रस होल्डिङ मुख्य समस्या, तर छिट्टै लागु हुन्छ’: अध्यक्ष हमाल

130

काठमाडौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ‘नियामक निकाय कमजोर छैन है’ भन्ने सन्देश आफूले दिएको बताएका छन् । आइतबार धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आयोजना गरेको विश्व लगानीकर्ता २०२३, को समापन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले पुँजी बजारलाई बलियो बनाउन नियामक निकाय बलियो हुनु जरुरी रहेको र बोर्ड बलियो छ भन्ने कुरा आफूले देखाएको दावी गरे ।

आफ्नो कार्यकालमा गरेका कामहरुको विवरण जारी गर्दै अध्यक्ष हमालले कसैको तजविजीमा नभई सिस्टमले नै बोर्ड सम्पुर्ण काम गर्ने हुदा अनुहार हेरेर कसैको काम गर्ने नगर्ने भन्ने नहुने पनि स्पष्ट पारे ।
सार्वजनिक निष्कासनमा बुक विल्डिङ प्रणाली मेरो पहिलेदेखिकै प्राथमिकता हो, उनले भने “बुक विल्डिङ प्रकृया विश्वभरी राम्रो र मान्यता प्रणाली हो, तर यसले सवै समस्याहरु समाधान भने हुदैनन् ।” तर बुक विल्डिङको प्रक्रिया चाडै अगाडी बढ्छ । उनका अनुसार नेपालमा बुक विल्डिङ प्रणालीमा क्रस होल्डिङ मुख्य विषय हो ।

त्यस्तैगरी उनले पुँजीबजारको विकासको लागि शेयर धितो कर्जाको सिमा परिवर्तन र बैंकहरुले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने व्यवस्था लागु गर्नका लागि आफूले महत्वपुर्ण भुमिका खेलेको पनि दावी गरे ।

कम नेटवर्थ  भएका कम्पनीलाई समेत प्रारम्भिक सार्वजनिक निष्कास (आइपीओ) जारी गर्न अनुमति दिएको गुनासोप्रति हमालले भने, ‘सवै आइपीओ खरिद गर्नुपर्छ भन्ने छैन । तर प्रकृया पुर्याएर आएका कम्पनीलाई म दिन्न भन्न सकिदैन ।’
त्यस्तै सो कार्यक्रममा नेपाल इन्भेष्टर फोरमका पुर्वअध्यक्ष छोटेलाल रौनियारले नियामक निकायदेखि नीजि क्षेत्रसम्मले लगानीकर्ताकै लागि काम गरेको भनिएपनि लगानीकर्ताहरुलाई भने वेवास्ता गरेको गुनासो गरे । उनले सरकारलाई झक्झक्याउने काम लगानीकर्ताहरुले गरेपनि उनीहरु प्राथमिकतामा नपुर्न दुखको कुरा भएको बताए ।

सो कार्यक्रममा धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकिकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताए ।
उनले भने, ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ त्यसले लगानीकर्ताको समस्या केहीहदसम्म सुन्ने र बुझ्ने काम भयो भन्ने ठानेका छौं,’।