करोडौ रकम बैंकमा फ्रिज भएपछि हमाल विरुद्ध विष बमन गर्दै अग्रवाल, लगानीकर्ता गुमराहमा

6475

काठमाडौ । गत सोमबार (असोज २२) सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले आफ्नो फेसवुक पेजमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई घुस खाएको आरोप लगाउदै एक स्टाटस लेखे । उनले सो स्टाटसमा ‘तीस बर्षमा अरुले खान नसकेको कमिसन १९ महिनामा पढ्काएर ५९ लाख लगानीकर्तालाई गरिव र रुवावासी बनाए ।’ भन्ने थियो । साथै उनले ह्यास ट्याग गरी “चोर हमालको कमाल” समेत लेखेका छन् ।

त्यस्तैगरी सोही पेजमा अग्रवालले असोज १५ गते ‘ल बधाई छ साथिहरु, ५०० करोडको घुस सहित नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको बाटो भोलि खुल्ने छ , भ्रष्ट हमालको कमाल’ भनेर स्टाटस पोष्ट्याएका छन् । असोज १६ गते नयाँ स्टक एक्सचेन्ज ल्याउने विषयमा नेपाल धितोपत्र बोर्डमा गम्भीर छलफलको कार्यक्रम थियो ।


यी दुई त उदाहरण मात्र हुन् । लगानीकर्ता दिपेन्द्र अग्रवाल पछिल्लो समय नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालका विरुद्ध हात धोएर नै लागेको छ । उनले जहाँसुकै पनि हमालको विरोध गरेको भेटिन्छ । उनको स्टाटसमा कमेन्ट गर्नेहरुले पनि हमालको विरोध नै गरेको देखिन्छ ।

हामीले यसको कारण के हो ? किन अग्रवाल हमालको विरुद्धमा खनिए ? के हमालले घुस खाएको प्रमाण छ त भनेर खोजेका छौ । हामीले गरेको अध्ययन अनुसार अग्रवाल र हमालको द्धन्द्ध २०७८ चैत १४ गतेदेखि सुरु भएको थियो । अग्रवालले ५०० प्रतिशतसम्म लाभांस दिन सकिने भन्दै उठाएको करोडौ रुपैयाँको बैंक खाता हमालले नेपाल राष्ट्र बैंकमा पत्र लेखेर खाता रोक्का गर्न लगाएपछि सुरु भएको हो ।

अग्रवालले गोल्डम्यान इन्भेष्टमेन्ट लिमिटेड खोलेर सामाजिक संजाल मार्फत १० लाख रुपैयाँ लगानी गर्दा १० करोड रुपैयाँ बनाउन सकिने भन्दै लगानीकर्ताहरुलाई विना आधार झुक्याउने नियतले लगानी उठाएका थिए ।

सो कम्पनीको अध्यक्ष अग्रवाल आफै हुन् भने महाप्रबन्धक सुनिल भट्टराई, डेपुटी सिइओ सुशिलकुमार लुनिया र प्रमूख मार्केटिङ अधिकृत प्रवेश खनाल हुन् । उनीहरु मिलेर सामाजिक संजाल फेसवुक, ट्वीटर, युटुव, टिकटक लगायतको प्रयोग गरी १० लाख रुपैयाँ लगानी गर्दा १० करोड बनाउन सकिने झुट्टो आश्वासन दिएर पैसा उठाइरहेका थिए ।
कम्पनी रजिष्टार कार्यालयका अनुसार गोल्डम्यान इन्भेष्टमेन्ट पव्लिक लिमिटेड कम्पनीको रुपमा २०७८ चैत १२ गते स्थापना भएको थियो । सो कम्पनीको मुख्य कार्यालय ज्ञानेश्वरमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डले अग्रवालको कम्पनीका गतिविधिबारे मिहिन ढंगले अनुसन्धान गरिरहेको थियो । बोर्डले अनुसन्धानका क्रममा विना आधार अग्रवालले आगामी आर्थिक बर्षभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो कम्पनी सुचिकृत गराउने, ५० वटा नयाँ कम्पनी पव्लिक कम्पनीहरु खोली व्यवसायिक सफलता हासिल गरेर सुचिकृत गराउने, लगानीकर्ताको शतप्रतिशत सुरक्षित हुने, २०८६ मा सो कम्पनीको एफ्पिओ जारी गर्ने, कम्पनीको नेटवर्थ प्रतिसेयर २५ हजार रुपैयाँ पुग्ने र नेपालकै सवैभन्दा ठूलो कम्पनी हुने साथै कम्पनीमा लगानी गरेको ६ बर्षपछि हरेक बर्ष ५०० प्रतिशतका दरले प्रतिफल दिने भन्दै सपना बाडेका थिए ।

तर देशको अवस्था, अर्थतन्त्रको गति, विश्वव्यापी आर्थिक मन्दी, अमेरिकाले लिएको व्याजदर बृद्धिको नीतिको असर विश्वभरी नै फैलिरहेको छ । जसका कारण कुनैपनि कम्पनीलाई १५ प्रतिशत लाभांस दिन समेत कठिन परेको अवस्था छ ।
यस्तो अवस्थामा पनि प्रति बर्ष ५०० प्रतिशतका दरले लाभांस दिने सपना बाडेपछि सम्भव नै नहुने सपना भन्दै बोर्डले त्यस्तो नगर्नका लागि अग्रवाललाई बेला बेलामा सचेत समेत गराएको थियो ।

बोर्डले अध्ययनका क्रममा भ्रामक कुराहरु फैलाई लगानीकर्ताहरुलाई झुक्याएर रकम उठाएको पाएपछि लगानीकर्ताको रकम जोखिमबाट बचाउनका लागि यस्तो भ्रामक समाचारहरु तत्काल रोक्न आग्रह गर्दै अर्थमन्त्रालयमा चैत १४ गते पत्राचार गरेको थियो ।

त्यस्तैगरी बोर्ड आवश्यक कारबाही गर्नका लागि २०७८ चैत १५ गते नै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई पनि पत्र पठाएको थियो । अग्रवालको सम्पुर्ण खाता रोक्का गर्नका लागि चैत २८ गते नेपाल राष्ट्र बैंकलाई आग्रह गरी पठाएको थियो । बोर्डबाट पत्र पाएपछि नेपाल राष्ट्र बैंकले पनि अग्रवालको खाता रोक्का गरिदिएको छ ।

धितोपत्र बोर्डका अनुसार अग्रवालले एक अर्बको अधिकृत पुँजी भएको कम्पनी पव्लिक कम्पनी खोल्न लागेको र सोको लागि ५१ करोड रुपैयाँ लगानीको लागि आव्हान गरेका थिए । सो आव्हानबाट २५ प्रतिशत अर्थात् १२ करोड ७५ लाख रुपैयाँको भने प्रतिवद्धता आइसकेको थियो ।

सो रकम अग्रवालको कम्पनीमा आउन लागेको र अग्रवालले सोझा साझा लगानीकर्ताको रकम ठगी हुन सक्ने भएपछि बोर्डले नेपाल राष्ट्र बैंकलाई खाता रोक्काको लागि पत्र पठाएको थियो । खाता बन्द भएपछि लगानीकर्ताहरुको रकम उठाउन नपाएको झोकमा अग्रवालले हमालको विरोध गरेका हुन् बोर्डका एक कर्मचारीले भने ।

एक एमालेका नेता बोकेर बोर्ड अध्यक्षलाई रोक्का खाता खुल्ला गर्नका लागि आग्रह गर्दै अग्रवाल बोर्डमा पुगेका थिए । तर अध्यक्ष हमालले सर्वसाधारण लगानीकर्ताको रकम जोखिममा पर्न नदिने अडान लिएपछि अग्रवाल फर्किका थिए ।
अग्रवाल विरुद्ध बोर्डले सिआइवीमा समेत उजुरी दर्ता गराएको छ । अग्रवालले सधै आधारहिन कुराहरु फेसवुक पेजमा राखेर लगानीकर्ताहरुलाई गुमराहमा राख्ने काम गरेको बोर्डको ठम्याइ छ ।

लगानीकर्ताहरुको लगानी सुरक्षित राख्नेकाम बोर्डको हो, हेर्र्दा हेर्दै लगानीकर्ता फसेको देख्न नसकिएकोले अग्रवाललाई सचेत गराउनका लागि बोर्ड लागेको हो । अग्रवालले लेखेका कुरा पुष्टी गराउन चुनौति दिन्छन् बोर्डका अध्यक्ष हमाल । हमालले अर्थटुडेसँगको कुराकानीमा आफूले घुस खाएको प्रमाण ल्याउन चुनौति समेत दिए । उनले भने, म विरुद्ध केही साथिहरु लाग्नुभएको छ म उनीहरुलाई चुनौति दिन्छु मैले कुनैपनि उच्च घरानासँग बसेर कफी वा चिया समेत खाएको छैन। त्यस्तो गरेको प्रमाण ल्याउन म चुनौति दिन्छु ।’

हमालको पछिल्लो समयमा आइपीओ र एफ्पिओ जारी गर्न विना रोकतोक अनुमति दिएको भन्दै घुस खाएको भनेर आलोचना भइरहेको छ । तर उनी एफपीओ र आइपीओ जारी गर्दा आफूले रित पुर्वक आएको निवेदनलाई नै दिएको भन्दै खुल्ला बजारमा लाइसेन्स रोक्न नहुने जिकिर गरे ।

अग्रवाल समय समयमा आफूसँग धेरै सेयर भएको कम्पनीको सेयर खरिद गरौ भनेर पनि लगानीकर्तालाई उक्साउने काम गरिरहेका छन् । यसरी लगानीकर्तालाई लगानीका लागि उक्साउनु हुदैन । यसरी उक्साएमा कारबाही हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।