म्युचुअल फण्डले काेटाकाे शेयर ६ महिनासम्म विक्रि गर्न नपाउने

223

काठमाडौं । म्युचुअल फण्डले कोटावापत खरिद गर्ने प्राथमिक शेयर (आइपीओ) कम्तीमा पनि ६ महिनासम्म विक्रि गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सोमबार सिडिएस एन्ड क्लियरिङलाई निर्देशन जारी गर्दै प्रत्येक सार्वजनिक निष्काशनमा ५ प्रतिशत आरक्षित कोटा अन्तर्गत प्राथमिक शेयर खरिद गर्दै आएका म्युचुअल फण्डलाई शेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म बिक्री गर्न रोक लगाएको हो ।

बोर्डले ६ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधिभित्र सामूहिक लगानी कोष(म्युचुअल फण्ड) को स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न सकिने जनाएको छ।
म्याचुअल फण्डहरुले कोटाबापत प्राप्त शेयर एकदिन पनि होल्ड नगरी धितोपत्र बजारमा सुचिकृत भएर कारोबार सुरु भएकै दिन बेचेर नाफा सुरक्षित गर्ने प्रबृत्तिका कारण सर्वसाधारण लगानीकर्ताहरु फसेको गुनासो आएपछि बोर्डले यस्तो व्यवस्था गरेको हो ।

म्युचुअल फण्डलाई दिइएको सुविधाबारे चासो राख्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बोर्डसँग लिखित जवाफ समेत मागेको छ। सामुहिक लगानी कोष नियमावली २०६७ अनुसार आइपिओ निष्काशनमा म्युचुअल फण्डले प्रत्येक संस्थाको सार्वजनिक निष्कासन गर्दा ५ प्रतिशत आरक्षण पाउने व्यवस्था छ ।