भारतीय विदेशमन्त्री एस.जयशंकरको नेपाल भ्रमणमा भए चार सम्झौता

153

काठमाडौं । भारतले १० बर्षमा १० हजार मेगावाट विजुली नेपालबाट आयात गर्ने सम्झौता भएको छ । विहिबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको हो । सो सम्झौतामा दुई देशका उर्जा सचिवहरुले हस्ताक्षर गरेका छन् । नेपालका उर्जा सचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै काठमाडौमा भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स र भारतको टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच सो सहमतिमा हस्ताक्षर भएको हो । सहमतिमा भारतले स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने जनाएको छ ।

१० बर्षमा १० हजार मेगावाट विजुली भारतले किन्ने
२० करोड रुपैयाँसम्मको परियोजनामा सोझै लगानी गर्ने
भुकम्प प्रभावितको पुननिर्भाणमा १० अर्ब अनुदान दिने
स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने

भारतले एकै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्न सक्नेगरी हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा पनि हस्ताक्षर भएको छ । सो सहमतिमा अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका छन् ।

त्यस्तै भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन पनि गरेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रबक्ता अमृत राइका अनुसार आयोगको बैठकमा कनेक्टिभिटी, व्यापार, जलस्रोत, उर्जा व्यापारका विषयमा छलफल भएको छ ।