सातामा ३० अर्बभन्दा बढीले घट्यो पूँजीकरण

124

काठमाडौं । गत साता धितोपत्र दोस्रो बजारमा १८ अर्ब १५ करोड रूपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । गत साता चार कारोबार दिन बजार खुला भएको थियो । चार कारोबार दिनमा उक्त रकम बराबरको ४ करोड ९६ लाख ३० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो साता भने तीन कारोबार दिन मात्र बजार खुला भएको थियो । तीन कारोबार दिनमा १६ अर्ब ६५ करोड रूपैयाँभन्दा बढीको ४ करोड ४५ लाख ८५ हजार भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।

गत साता कारोबार रकम र कित्ता भने बढेको छ । अघिल्लो साताको तुलनामा १ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको ५० लाख ४५ हजारभन्दा बढी धितोपत्र अघिल्लो साताको तुलनामा कारोबार भएको हो । कारोबार दिन बढी भएकाले पनि गत साता कारोबार रकम र कित्ता बढेको देखिन्छ । औसतमा भने कारोबार रकम र कित्ता घटेको छ ।

अघिल्लो साता औसतमा ५ अर्ब ५५ करोड रूपैयाँभन्दा बढीको १ करोड ४८ लाख ६१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता औसतमा ४ अर्ब ५३ करोड रूपैयाँभन्दा बढीको १ करोड २४ लाख ७ हजार भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो साताभन्दा गत साता औसतमा १ अर्ब १ करोड रूपैयाँभन्दा बढीले कारोबार रकम घटेको हो भने कारोबार कित्ता २४ लाख ५४ हजारभन्दा कम भएको हो ।

धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक भने अघिल्लो साताको अन्तिम कारोबार दिनभन्दा १९ दशमलव ६२ अंक अर्थात शून्य दशमलव ९५ प्रतिशत घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ६८ दशमलव ९० विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन २ हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।
गत साता चार कारोबार दिनमा पहिलो दिन ८ दशमलव ७५ अंक, दोस्रो दिन ३० दशमलव शून्य ५ अंक घटेको थियो भने तेस्रो दिन २७ दशमलव ९० अंकले बढेको थियो । अन्तिम कारोबार दिन भने नेप्से परिसूचक ८ दशमलव ७१ अंकले घटेर बन्द भएको छ ।

बजार अघि बढ्ने प्रयाप्त आधार हुँदाहुदैं पनि गति लिन नसक्नुको प्रमुख कारण लगानीकर्तामा रहेको अन्योलतालाईनै जानकारहरूले लिएका छन् । प्रयाप्त तरलता, कम ब्याजदर रहेको अवस्थामा बजारमा लगानी गर्दा जोखिम हुने वा नहुनेमा यतिबेला लगानीकर्ता ढुक्क नरहेको जानकारहरूको बुझाई छ । अल्पकालिन लगानीकर्ता सक्रिय हुँदा छोटो समयमा बजारको गतिमा ब्रेक लाग्ने गरेको ब्रोकरहरू बताउँछन् । केहि समय संयमित भएर लगानीलाई होल्ड गर्न सके बजारले केहि गति लिने र यसबाट सबै पक्षलाई फाइदा हुने तर्क पनि ब्रोकरहरूको छ ।

बजार घटेसँगै कुल बजार पूँजीकरण ३० अर्ब ३ करोड रूपैयाँभन्दा बढीले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३२ खर्ब १३ अर्ब ८९ करोड रूपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ८३ अर्ब ४१ करोड रूपैयाँ कायम भएको हो ।

लगानी समूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बृद्धि ,जीवन बीमा समूहको सर्वाधिक घट्यो

गत साताको कारोबारमा चार समूहगत परिसूचक अघिल्लो साताको तुलनामा बढेको छ । लगानी समूहको परिसूचक सर्वाधिक ४ दशमलव १६ प्रतिशत बढेको हो भने व्यापारिकको १ दशमलव ८८ प्रतिशत, जलविद्युतको १ दशमलव ८४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २९ प्रतिशत परिसूचक बढेको हो । नौं समूहगत परिसूचक भने अघिल्लो साताको तुलनामा घटेको छ ।

जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५ दशमलव शुन्य ६ प्रतिशत घटेको हो । त्यस्तै अन्यको ३ दशमलव ४० प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ४८ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ९२ प्रतिशत, बैंकिङको १ दशमलव ३३ प्रतिशत, वित्तको १ दशमलव ३२ प्रतिशत, लघुवित्तको १ दशमलव १९ प्रतिशत, विकास बैंकको शुन्य दशमलव ८९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २१ प्रतिशत परिसूचक घटेको छ ।