सहकारीको समस्याका कारण बैंकमा प्रभाव : गभर्नर अधिकारी

78

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीको समस्याका कारण बैंकको ऋण असुलीमा पनि प्रभाव परेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा सहकारी र अनौपचारीक क्षेत्रले असर पारेको उल्लेख गरे ।

‘केही सहकारी संस्थाहरु समस्या परेपछि बैंकको रिपेमेन्टमा पनि समस्या देखिऐको छ’ उनले भने, ‘यो ठूलो समस्या होइन, सहकारीका १० प्रतिशत निक्षेपकर्तालाई पैसा दिने हो भने बाँकी समस्या पनि समाधान हुन्छ, यो सुझाव मैले सम्बन्धित ठाउमा दिइसकेको छु ।’

गभर्नर अधिकारीले कोभिड–१९ को महामारीपछि बैंकहरुले आवश्यक्ता भन्दा बढी ऋण दिएको र हाल समस्या निम्तिएको दावी गरे । यसैको परिणामस्वरुप बैंकहरुको खराब कर्जा बढेको उनको भनाइ थियो । यसैगरी गभर्नर अधिकारीले राष्ट्र बैंकले लागू गरेको कर्जा निक्षेप अनुपात (सीडी रेसीयोका कारण अहिले बैंकहरु जोगिएको समेत उनको भनाइ थियो ।

एनआइसी एसीया बैंकबाट २७ अर्ब रुपैयाँ बाहिरिदा पनि समस्या नपरेको उदाहरण दिदै उनले अहिले शेयरधनीलाई लाभांश नदिएर भए पनि प्रणाली सुधारमा लाग्नुपर्ने आवश्यक्ता औल्याए । कार्यक्रममा बैकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकिङ क्षेत्र सवल अवस्थामा रहेको भन्दै फलानो बैंक डुब्दैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरे ।

अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बैंकमा पनि परेको र जसका कारण बैंकको खराब कर्जा बढेको, वितरणयोग्य नाफा नकारात्मक भएको र शेयरधनीले पाउने प्रतिफल पनि घट्दै गएको बताए ।