सहारा नेपाल र एनएमसी सहकारी, कुन सूचकमा बलियो ?

167

काठमाडौं । आर्थिक गतिविधिमा देखिएको शिथिललतासँगै सहकारी क्षेत्र पनि प्रभावित बनेको छ । कतिपय सहकारी संस्थाहरु तरलता अभावको कारण बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका बेला समुदायमा आधारित रही, सदस्य केन्द्रीत हुँदै ग्रामीण क्षेत्रमा संचालनमा रहेका सहकारीहरुको अवस्था भने बलियो देखिएको छ । सहकारी विभागको निर्देशन अनुसार प्रकाशित सूचक केलाउँदा संस्थाहरुको अवस्था सवल देखिएको छ ।

झापा जिल्लामा ठूलो कारोबार गर्ने सहकारी संस्थाहरु हुन् सहारा नेपाल बचत तथा ऋण र नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी । बचत तथा ऋणको उद्देश्य रहेको सहारा बचत तथा ऋण सहकारी रहेकाले यसको मुख्य काम वित्तीय कारोबार नै छ । सहकारीमार्फत लघुवित्त सेवा संचालन गर्दै आएको सहारा सम्बभत देशकै सबैभन्दा बढी सदस्य भएको संस्था हो । संस्थामा हाल एक लाख ६७ हजार सदस्य रहेका छन् । लघुवित्त सेवा संचालन गर्ने भएकाले संस्थाको ऋण पनि अधिकतम सदस्यमा पुगेको छ । संस्थामा ऋण सदस्यमध्ये करिव ५० प्रतिशतले ऋण उपभोग गरेका छन् ।

यसैगरी संस्थाको सवल पक्षका रुपमा जगेडा तथा कोष पनि देखिएको छ । संस्थाको माघ मसान्तसम्मको वित्तीय विवरणमा जगेडा कोषमा एक अर्ब २४ करोड र अन्य कोषहरुमा ४६ करोड ४ लाख रुपैयाँ देखिएको छ । यसैगरी संस्थाको पुँजी पनि बलियो अवस्थामा छ ।

संस्थाको तरलता भने आवश्यक्ता भन्दा बढी देखिएको छ । पुँजीको लागत उच्च भएको अवस्थामा पनि संस्थाले ३१ प्रतिशत भन्दा बढी तरलता लिएर बसेको छ ।

यसैगरी बहुउद्देश्यीय प्रकृतीको एनएमसी भने बचत तथा ऋणसँगै कृषि, डेरी उद्योग र उपभोक्ता पसलजस्ता व्यवसायमा पनि सक्रिय छ । वित्तीय विवरण विश्लेषण गर्दा यसको सदस्यको संख्या पनि डेढ लाख नाघेपनि ऋण उपभोग गर्ने सदस्य भने कम देखिएको छ । यसका आधारमा संस्थाको ऋण लगानी सिमित सदस्यमा मात्र केन्द्रीत भएको विश्लेषण गर्न सकिन्छ ।

संस्थाको कोषहरुको र पुँजीको अवस्था पनि सवल देखिन्छ । तरलता भने संस्थामा १८ प्रतिशत हाराहारीमा छ । जुन पल्स मनिटरिङ सिस्टमको मापदण्ड भित्र नै छ ।