बैंकर पक्राउप्रति सिविफिनको आपत्ति, बैंकरहरुमा त्रास उत्पन्न भएको दावी

54

काठमाडौ । बैंक तथा वित्तिय संस्था परिसंघ (सिविफिन) ले बैंकका बहालवाला तथा पुर्व कर्मचारीहरुलाई कर्जा दुरुपयोग गरेको अभियोगमा पक्राउ परेको प्रति आपत्ति जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गरी धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको वारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति गम्भीर आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंकका गतिविधिहरु नियामक निकायको सूक्ष्म निगरानीमा रहेको दावी छ, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ, भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन् ।’

सिविफिनका अनुसार बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानून अनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको छ ।
‘व्यावसायिक\व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने÷उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य हुदा हुदै पनि गम्भीर छानविन नगरी नै बैंकरलाई हिरासतमा लिएकोप्रति सिविफिनको अपत्ति छ’, विज्ञप्तिमा भनिएको छ ।

सिविफिनले बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन सम्बन्धित सबैमा हार्दिक आग्रह गरेको छ । त्यस्तै सिविफिनले कर्जाको अवस्था हेरी संभावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु न्यायसंगत नहुने बताएको छ ।

यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने सिविफिनको ठहर रहेको जनाएको छ । त्यस्तै हिरासतमा राखिएको बैंकको कर्मचारीहरुको तुरुन्त रिहाइका लागि पनि सिविफिनले माग गरेको छ । गत मंगलबार केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले प्रभु बैंकका बहालवाला नायव कार्यकारी अधिकृत तथा सेन्चुरी बैंकका पुर्व कार्यकारी अधिकृत तुलसीराम गौतम सहित ११ जनालाई पक्राउ गरेको थियो ।