बैंकमा निक्षेप ६२ खर्ब नाघ्यो, कर्जा प्रवाह नहुँदा साढे ६ खर्ब लगानीयोग्य पुँजी थुप्रियो

30

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप ६२ खर्ब रुपैयाँ नाघेको छ । आर्थिक गतिविधि सुस्त भएपनि रेमिट्यान्स आप्रवाहमा लगातार बृद्धिसँगै वित्तीय संस्थाहरुको निक्षेप उच्च विन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्ममा बैंक, वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । त्यसमध्ये बाणिज्य बैंकहरुसँग ५४ खर्ब ८७ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रुपैयाँ रहेको छ ।

यस्तै शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षमा बैंकहरुको निक्षेप ४ खर्ब २० अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने २ खर्ब ४ अर्बले मात्र बढेको छ ।

बैंकहरुमा तरलता अधिक भएपछि बैंकहरुको औशत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ६१ प्रतिशतमा झरेको छ । । बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधान अनुसार अझै साढे ६ खर्ब ४४ अर्ब भन्दा बढी कर्जा दिनसक्ने क्षमता छ ।

राष्ट्र बैंकले फागुनयता हरेक आईतबार र बुधबार नियमितम रुपमा स्थायी निक्षेप उपकरण जारी गदै आएको छ । आईतबारसम्ममा बैंकहरुले ८ खर्ब २५ अर्ब १० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा लिइसकेका छन् । आईतबार मात्रै ६५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका थिए ।

यसैगरी चालू आवमा बैंकहरुले निक्षेप संकलन उकरणमा पनि ६ खर्ब ९३ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन् । यसमध्ये पछिल्लो पटक जारी भएको १४ दिने र २१ दिने अवधी गरी १ खर्ब रुपैयाँ निक्षेप परिपक्क हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।