दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धि

52

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धि भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार २०७९/८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढेको बताएको हो ।

गत आवको दोस्रो त्रैमासमा आर्थिक बृद्धिदर नकारात्मक थियो । चालु आवको दोस्रो त्रैमासमा धान लगायत अन्नबाली, अन्य कृषि उत्पादनमा तथा पर्यटक आगमनमा भएको वृद्धिले आर्थिक वृद्धिदर सकारात्मक भएको हो । तर, ब्यापार र उद्योग क्षेत्रमा भने उल्लेख्य सुधार आउन सकेको छैन । निर्माण क्षेत्र भने अझै नकारात्मक रहेको तथ्यांक सार्वजनिक भएको छ ।

क्षेत्रगत रुपमा सबैभन्दा धेरै वृद्धि आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको २९.३ प्रतिशतले भएको छ । यस्तै ग्यास क्षेत्रमा १७.१ प्रतिशत वृद्धिदर भएको छ । यातायात तथा भण्डारण क्षेत्रमा १४.३ प्रतिशत वृद्धि देखिएको छ ।

त्यस्तै खानी तथा उत्खनन क्षेत्रमा ९.४ प्रतिशत वृद्धि भएको छ । निर्माण क्षेत्रमा भने २.२ प्रतिशतको संकुचन आएको छ । वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशत छ । थोक तथा खुद्रा व्यापार भने ०.५ प्रतिशत मात्र बढेको छ ।

सरकारले चालू वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । मंगलबार मात्रै विश्व बैंकले पनि यस वर्ष ३.३ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।